कपिलवस्तु , चैत्र २०
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन भोलि (बुधबार) कपिलवस्तु आउने भएका छन् । कृष्णनगर नगरपालिका–६ करमामा नेपाल–भारत अवधमैत्री समाजले आयोजना गरेको होली मिलन कार्यक्रमको अवसरमा आउने पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
करमामा अवस्थित जनता माध्यमिक विद्यालयमा आयोजित होली मिलन समारोह मा नेपाल–भारत अवधमैत्री समाजको निमन्त्रणामा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख अमिक शेरचन आउन लागेको नेपाल–भारत अवधमैत्री समाजका अध्यक्ष ईश्वर दयाल मिश्रले जानकारी दिए ।
यस्तै वीरगञ्ज स्थित भारतको वाणिज्य दूतावासका कन्सुल देवी सहाय मिना , भारत उत्तर प्रदेशका पुर्व सभामुख एवम प्रदेश सभा सदस्य माता प्रसाद पाण्डे, नेपाल–भारत अवधमैत्री समाजका संरक्षक तथा पुर्व मन्त्री हृदयेश त्रिपाठी, जिल्लाका पूर्वमन्त्रीहरु, पूर्वसांसदहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, भारतको उत्तर प्रदेश संस्कृति मन्त्रालयका प्रतिनिधी, भारतीय दुतावासका प्रतिनिधी लगायतको सहभागितामा कार्यक्रम गरिने बताइएको छ सथै शिजराज, महाराजगञ्ज, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका प्रमुखलाई समेत होली मिलन कार्यक्रममा बोलाइएको मिश्रले बताए ।
नेपाल भारत बीचको सम्बन्ध थप मजबुद बनाउने तथा सांस्कृतिक बिविधता कायम गर्ने उदेश्य अनुरुप समारोह आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । नेपाल भारत अवध मैत्री समाजका अध्यक्ष तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्रले अवध संस्कृतिको उत्थान, साँस्कृतिक जर्गेना र नेपाल भारत बीचको आपसी सम्बन्ध थप मजबुद बनाउनका लागि कार्यक्रम गरिने बताए । यस होली मिलन कार्यक्रमले भाइचाराको सम्बन्ध, साँस्कृतिक परम्परा, मित्रता र प्रेमको सद्भाव बढाउने टेवा पुग्ने उद्धेश्यले भव्य कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मिश्रले जनाए ।
कार्यक्रममा पूर्व राष्टिय सभा सदस्य दीर्घनारायण पाण्डेले नेपाल भारत बीचमा सांस्कृतिक समानता कायम गर्ने, अपनत्व रहने हुनाले आपसी भातृत्व र सांस्कृतिक बिनिमयका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने बिश्वास ब्यक्त गरे ।
बर्तमान अवस्थामा सामाजिक सुदृढीकरणका लागि संस्कृतिको संरक्षण र जर्गेना गर्नु आवश्यक सहभागिताहरुले बताए । लोसपाका युवा नेता रविदत्त मिश्र, युवा नेता राशिद मिर्जा, दिपक शुक्ला, श्याम सुन्दर चौधरी, सचितानन्द शुक्ला, गंगेशनाथ तिवारी लगायतले सामाजिक सौन्दर्यता खल्बलिएको अनुभूति रहेको भन्दै कार्यक्रमको आयोजना गरिएको बताए ।
उनीहरुले धार्मिक, राजनैतिक, सामाजिक र रगतको समेत सम्बन्ध अवध संस्कृति र परम्परागत मान्यतालाई यथावत राख्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।