कर तिर्नेमा पहिलो बन्यो ग्लोबल बैंक, लाइसेन्स नविकरणमा ५०० प्रतिशत जरिवाना

कर तिर्नेमा पहिलो बन्यो ग्लोबल बैंक, लाइसेन्स नविकरणमा ५०० प्रतिशत जरिवाना

काठमाडाैँ । वाणिज्य बैंकहरुमध्ये राज्यलाई सबैभन्दा धेरै कर तिर्ने बैंकका रुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक अग्र स्थानमा देखिएको हो । जसमा ग्लोबलले वर्षभरी विभिन्न शीर्षकमा तिरेको कर गत आ.व.मा पाँच अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस्तै उक्त अवधिमा ग्लोबलले सात अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएकोे छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव २६ प्रतिशतले बढी हो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक मानिन्छ ।

लाइसेन्स नविकरण ढिलो गरे पाँच सय प्रतिशत जरीवाना

यातायात व्यवस्था विभागले निर्धारित समय भन्दा ढिलो लाइसेन्स नविकरण गर्न जाने सेवाग्राहीलाई पाँच सय प्रतिशतसम्म जरिवाना लगाउदै आएको छ । लाइसेन्स बाहक सेवाग्राहीले मिति नाघेको ९० दिन भित्र नविकरण गर्न आवेदन दिएमा कुनै जरिवाना लाग्दैन । तर, ९० दिन कटेपछि भने पहिलो वर्ष सत प्रतिशत, दोस्रो वर्ष दुई सय प्रतिशत, तेस्रो वर्ष तिन सय प्रतिशत, चौथो वर्ष चार सय प्रतिशत र पाँच वर्षपछि पाँच सय प्रतिशतसम्म जरिवाना तिर्नु पर्ने विभागले व्यवस्था गरेको छ । उक्त अवधिमा पनि नविकरण नभए लाइसेन्स स्वतः खारेज हुने व्यवस्था छ । सामान्यतः एउटा लाइसेन्सको आयु १० वर्ष हुन्छ । सामान्य रुपमा लाइसेन्स नविकरण शुल्क वापत २ हजार रुपैयाँ तिर्नु पर्छ । तर, ५ वर्षपछि नविकरण गर्दा १२ हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

नागरिक लगानी कोषको नाफा ९० करोड ७८ लाख

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नागरिक लगानी कोषले ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३६.७४% ले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा कोषले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । यसैगरि, सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको कोषले जनाएको छ । ब्याज आम्दानीमा पनि ३५ करोड ९९ लाखबाट बढेर ४० करोड ४९ लाख पुगेको छ ।

विमानस्थल वरपरका संरचनाको अध्ययन गरिँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल आसपासमा रहेका भौतिक संरचनाहरुको विस्तिृत अध्ययन गर्ने भएको छ । प्राधिकरणले विमानस्थल आसपासमा उडान तथा हवाई सुरक्षामा असर पर्ने व्यक्तिगत तथा सार्वजनिक संरचनाहरुको अध्ययन गर्ने भएको हो । मुलुकभरका ५४ वटा विमानस्थलमध्ये हाल उडान भइरहेका ३४ वटा विमानस्थलको तीन किलोमिटर आसपासमा निर्माण भएका सम्पूर्ण व्यक्तिगत तथा संस्थागत भौतिक संरचनाले विमानस्थलमा हुने उडान/अवतरणमा उडान सुरक्षा तथा हवाई सुरक्षामा पार्न सक्ने असरबारे अध्ययन गर्न प्राधिकरण, प्रधान कार्यालयस्थित हवाई सुरक्षा विभागका उपनिर्देशक, श्रीहरि भट्टको संयोजकत्वमा चार सदस्यीय सुझाव समिति गठन भएको प्राधिकरणले जनाएको छ । विमानस्थलको वरिपरि हवाई सुरक्षामा गम्भीर असर गर्ने घर, भवन, टावर तथा अन्य संरचनाहरुको अध्ययन गरीने प्राधिकरणले जनाएको छ ।

बीआरआई सदस्य मुलुकसँग खर्बौं डलरको व्यापार

चीनले सन् २०२३ को सात महिनामा नै बिआरआई सदस्य मुलुकहरुसँग एघार खर्ब डलर भन्दा बढिको व्यापार गरेको छ । चीनको भन्सार प्रशासनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अन्तर्गतका देशसँग ११ खर्ब २० अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको विवरण सार्वजनिक गरिएको छ । हाल चीनको बिआरआई सदस्य मुलुकहरुसँग मात्रै ७ दशमलव ४ प्रतिशतले व्यापार बढेको छ । यस्तै, चीनले बिआरआई परियोजनामा आफ्ना देशका निर्माण व्यावसायीलाई ठेक्का दिलाएर र वस्तु बेचेर सदस्य मुलुकमा लगानी गरेको रकम देशभित्रै फिर्ता ल्याउने गरेको छ । भने चीनले बिआरआई परियोजना अन्तर्गत १० खर्ब डलर लगानी गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *