मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रारसमेत रहेका उनले विश्वविद्यालयको खस्कँदो साखबारे चिन्ता व्यक्त गरे । नेपालमै दर्जनभन्दा बढी विश्वविद्यालय भएको अवस्थामा उच्च शिक्षा अध्ययन गर्नका लागि लाखौँ युवा विदेशिनु विश्वविद्यालय र सिंगै देशको शिक्षा नीति असफल भएको भन्दै शैक्षिक क्षेत्रमा लाग्ने सबैले आत्मालोचना गरेर सुध्रिनुपर्ने बताए । विश्वविद्यालयबाहिर रहेको विद्वत्वर्गले पनि यस विषयमा दबाब दिनुपर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कर्णालीमा जन्मेर देशको शिक्षा, साहित्य र सिंगै देशलाई मुटुमा राखेर हिँडेको एक बौद्धिक व्यक्तित्वलाई स्वागत गर्न पाउँदा गर्व महसुस भएको सुनाए । उनले डा. मल्लको कवित्वका बारेमा पनि चर्चा गरे । मल्लका लामा कविता बढी रहेतापनि लामा कविताका तुलनामा छोटा कविता बढी शक्तिशाली भएको निष्कर्ष अधिकारीको थियो । नेपाली जनजीवनका विविध आयाम र विश्वका अनेकन आयामलाई एउटै कवितामा उनेर बौद्धिक कविता रचना गर्नु मल्लको मूल काव्यिक विशेषता रहेको बताए ।
सो अवसरमा मध्यपश्चिमाञ्चल गजल मञ्च, सुर्खेतका अध्यक्ष धिरेन अनुपम र महासचिव पहल असिमले आआफ्ना गजल सुनाएका थिए । साथै दीपक समीप, रीता अधिकारी ‘ऋतु’, प्राञ्जल, श्रीराम अधिकारी ‘गोर्जे’ लगायतले आआफ्ना रचना प्रस्तुत गरेका थिए । डा. ईश्वरमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मण थापाले स्वागत र महासचिव सञ्जीव पौडेलले सञ्चालन गरेका थिए ।