
काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चमै आफु नेतृत्वको सरकार निर्माणमा भारतको हात रहेका आशयकोे अभिव्यक्ति दिएपछि राजनीति गर्माएको छ ।
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तकै अगाडी आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली पुगेको भन्दै दिएको मुलुकको सार्वभौमिकताविरुद्ध भएको भन्दैै चौतर्फि आलोचना पनि भइरहेको छ ।
प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले दिएको यस्तो अभिव्यक्ति पछि राजनीतिक बृतमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिंह पटक–पटक दिल्ली किन गए र के सम्झौता गरे ?
प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्लीको भुमिका के रह्यो ? र को हुन सरदार प्रित सिंह लगाएतका प्रश्न उब्जिएका छन् ।
नेपाली राजनीतिमा सरकार बनाउन र भत्काउन बाह्य शक्तिको हस्तक्षेप हुने बिषय खुला रहस्य जस्तै छ ।
देशको राजनीतिमा सामान्य उलटफेर हुँदा समेत विदेशी शक्ति रिझाउन हाम्रा राजनीतिज्ञहरु लर्को लागेर दिल्ली जाने गरेका थुप्रै दृष्टान्तहरु छन् ।
अझ पछिल्लो समय त प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री जस्ता जिम्मेवार व्यक्तिले नै खुल्लम खुल्ला सरकार निर्माणमा विदेशी शक्तिको हात रहने बताउन थालेका छन् ।
सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली पुगेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सरदार सिंहकी छोरी किरण दीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन कार्यक्रममा दिएको प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिले मुलुकको राजनीतिमा खैलाबैला मच्चाएको छ ।
उनले आफुलाई प्रधानमन्त्री बनाउन सरदार सिंह दिल्ली पुगेको र त्यहाँ नेपाली नेताहरुसँग पनि छलफल गरेको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तलाई साक्षी राखेर भारतको इसारामा सरकार निर्माण हुन्छ भन्ने आशयको अभिव्यक्ति दिनु देशको सार्वभौमिकता माथिको प्रहार होइन ? प्रश्न उब्जिएको छ ।
राजनीतिक बृतमा प्रधानमन्त्री प्रचण्डले यस किसिमको अभिव्यक्ति दिनु राष्ट्रविरुद्धको अपराध भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ ।
नेपालको आन्तरिक मामलामा पर्ने सरकार गठन जस्तो संवेदनशील बिषयमा विदेशी हस्तक्षेप हुन्छ भन्नु । त्यो पनि जिम्मेवार पदमा बसेर ।
देशका लागि त्यो जस्तो लज्जाको बिषय के होला ? यदि भारतले नै सरकार गठन गर्ने हो भने जननिर्वाचित सांसदहरुको भुमिका के ?
आम प्रश्न बनिरहेको छ । प्रधानमन्त्री प्रचण्डले अब यस्ता बिषयमा प्रष्ट पार्नैपर्ने छ ।
को हुन सरदार प्रितम सिंह ?
पेशाले पाइलट रहेका भारतीय नागरिक प्रितम सिंह राजा महेन्द्रकै पालामा नेपाल आएका थिए ।
भारतको जम्मुकश्मिरमा जन्म लिएका सिंहको परिवार राजनीतिक पृष्ठभुमिको रहेको बुझिएको छ ।
उनकै जेठा दाई जम्बुकश्मिरमा ३ पटकसम्म मन्त्री भइसकेका छन् । भन्डै ७ दशक अगाडी नेपाल छिरेका सिंहलाई नेपालमा ढुवानीको जग बसाल्ने पहिलो व्यक्तिको रुपामा हेर्ने गरिन्छ ।
त्यसैले उनलाई ट्रान्सपोर्ट पायेनियरको उपनाम पनि दिइन्छ । तत्कालिन राजा महेन्द्रको प्रस्तावमा सिंहले नेपालमा ढुवानीको व्यवसाय सुरुवात गरेका थिए ।
यातायातसंगै उनले विस्तारै शिक्षामा पनि हात हाले । उनकै पहलमा मोर्डन इन्डिएन इङ्लिस स्कुल स्थापना भएको बुझिएको छ ।
व्यवासायकै क्रममा उनी नेपालका राजनीतिज्ञहरुसंग नजिक भएको बुझिएको छ । यसरी सिंहको सम्बन्ध तत्कालिन राजा महेन्द्र देखि बर्तमान प्रधानमन्त्री प्रचण्ड सम्म जोडिएको छ ।