
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस हावा चावाको पार्टी भएको टिप्पणी गरेका छन् । बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेलाई पार्टीको संज्ञा दिन पनि मन नलागेको टिप्पणी गरे ।
‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको पार्टी नेपाली काँग्रेस किं कर्तव्य विमुख भयो,’ उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहै छैन भनेजस्तो।’
आज देशलाई कसरी अघि लानुपर्ने त्यो कुरामा काँग्रेस नभएको अध्यक्ष ओलीले आरोप लगाए । उनले देशको हालको अवस्थामा एमाले एक्लैले अभिभारा पूरा गरिरहेको पनि जिकिर गरे ।
एमाले सत्ता स्वार्थका लागि कोही कुनै पार्टी सँग नमिल्ने पनि अध्यक्ष ओलीले स्पष्ट पारे । उनले कसैसँग देशका लागि, जनताका लागि, परिवर्तनका लागि, शुसासन र विकासका लागि मात्रै एमालेले एकता जनाउने उल्लेख गरे ।
‘अहिलेको गठबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सरकार प्राप्त गर्न गरिएको गठबन्धन, उदेश्य, गन्तव्य र लक्ष्यहिन नति कार्यक्रमविहीन,’ उनले भने । उनले हालको गठबन्धन गन्तिव्यविहीन भएकै कारण मुलुक दुर्गतिमा लागेको आरोप लगाए ।