
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ बाट एकल नाम सिफारिस भएका नेता बिरेन्द्र कुमार कनौडिया नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
शनिबार दिउँसो २ बजे काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै कनौडियाले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।
स्रोतका अनुसार कांग्रेसभित्र बढ्दो आन्तरिक किचलो र कपिलवस्तु क्षेत्र नं. ३ मा आगामी निर्वाचनका लागि टिकट सुनिश्चित हुने वातावरण नदेखिएपछि कनौडियाले एमाले रोजेको बताइएको छ।
एमाले प्रवेशपछि कनौडियाले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति भरोसा व्यक्त गर्दै क्षेत्रको विकास, स्थायित्व र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनको दल परिवर्तनलाई कपिलवस्तु क्षेत्र नं. ३ को राजनीतिक परिदृश्यमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।



