कांग्रेसलाई चिढ्याएर एमालेतर्फ नढल्किन माधव नेपालको आग्रह (न्युजरफ्तार)

कांग्रेसलाई चिढ्याएर एमालेतर्फ नढल्किन माधव नेपालको आग्रह (न्युजरफ्तार)

मुलुकको विकासमा एक जुट हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन् । अब आफु दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि भने सदैव सक्रिय रहने बताए । तनहुँको व्यास नगरपालिकामा निर्माण गरिएको दमौली सभागृहको शनिबार उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । राष्ट्रपति पौडेलले मुलुकको समग्र विकासबाट हात नझिक्ने समेत बताए । यस्तै, सुशासनको पक्षमा पनि आफ्नो ध्यान रहेको उनले बताए । संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । पछिल्ला दिनहरुमा साम्प्रदायिक दंगा गराउने किसिमका गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्दै उनले सबै धर्म र जातजातिको सम्मान गरे मात्रै देश बलियो हुने तर्फ सचेत रहन आग्रह समेत गरे ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । शनिबार उनीहरुबीच चीनको हाङझावमा भेटवार्ता भएको हो । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँगको वार्तापछि यसबारे विवेचना शुरु भएको छ । सीसँगको भेटमा दुई राष्ट्रबीच कुनै विशेष सम्झौताका विषयमा गम्भिर कुराकानी नभएको बुझिएको छ । यद्दपी, चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपालको विकासमा साझेदारी बन्न तयार रहेको भन्दै दुई देशको सम्बन्ध उच्च स्थानमा रहेको बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्रचण्ड अझै अबको सात दिनसम्म चीनमा रहने र चिनियाँ कांग्रेसका उच्च पदस्थसँग समेत कूनीतिक वार्तामा रहने हुँदा आगामी दिनमा केही लाभदायी सम्झौता होलान् भन्ने अपेक्षा गरिएको छ ।

शिक्षालाई प्राविधिक पक्षसँग जोड्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाई छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह समेत गरे । श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उनको भनाई छ । शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल पनि मुलुकले पाउन नसकेको उनको गुनासो समेत छ ।

दिगो विकास लक्ष्य अनुसार कार्यक्रम तर्जुमा गर्न निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । शनिवार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उनले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका हुन् । गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्न समेत उनको निर्देशन छ । परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उनको जोड छ ।

कांग्रेस चिढ्याएर एमालेतर्फ नढल्किन माधवको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसलाई चिढ्याएर एमालेलाई खोज्नु भनेको पार्टी सिध्याउने कुरा भएको बताएका छन् । उनले कांग्रेस चिढ्याएर एमाले खोज्नेतर्फ नलाग्न समेत आफ्ना नेता कार्यकर्तालाई आग्रह गरे । शनिवार नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने र सिंगो अभियान धराशायी हुने बताएका हुन् । पछिल्लो समय माधवकै पार्टीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा कसका विरुद्ध भन्दै विद्रोहको स्वर उठाइरहेका छन् । झलनाथले नेकपा एसले प्रमुख शत्रु किटान गरेर जानुपर्ने बताइरहेका बेला नेपालले लगातार खनालको धारणाको प्रतिवाद गरिरहेका छन् । त्यसैले पनि पछिल्ला दुई साता यता माधव र झलनाथको वादप्रतिवाद चर्किरहेको देखिन्छ ।

क्षयरोगको उपचार प्रभावकारी बनाउनु पर्नेमा जोड

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो समय क्षयरोग उपेक्षितबन्दै गएकाले प्रतिकारात्मक र उपचारात्मक सेवालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।
‘हो, हामी क्षय रोग अन्त्य गर्छौँ’ भन्ने नारा सहित विराटनगरमा आयोजित नेपाल क्षयरोग निवारण संस्था मोरङको ५३ औं जिल्ला सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्र्कीले क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य पूरा गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले क्षय रोगनिवारणलाई समाजसेवाका रुपमा सहयोग गर्ने कार्य जारी राख्न आग्रह गर्दै क्षयरोग पिडितहरुको उपचारका लागि आवश्यक अस्पताल बनाई दिने बताए । उनले जग्गा प्रदेश सरकारले उपलब्ध गराउन नसक्ने भएकाले स्थानीय तह वा संघीय सरकारसंगको समन्वयमा उपलब्ध गराउनु पर्ने समेत बताएका छन् ।

सरकारमाथि योगेशको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको आरोप लगाएका छन् । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको आरोप छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याएका छन् । उनले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको सुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए । लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारमा जान मोर्चामा आएको होइन : विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति छ । नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ समाजवादी मोर्चामा आफूहरुले भाग लिएको उनले जिकिर गरे । शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् । मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत उनले औंल्याए । विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने समेत बताए । जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाई छ ।

राहत तथा अस्थायी शिक्षकहरु आन्दोलनमै

सरकारसँग सहमति भएपनि केही शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । उनीहरुले शनिबारपनि प्रर्दशन जारी राखे । शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका थिए । ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु अझै आन्दोलनमा रहेका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको उनीहरुको आरोप छ ।

क्यानको नयाँ नेतृत्व चयन

पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत प्राप्त गरे । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष समेत हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् । अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *