
कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले अरुका कारण नभई कांग्रेस आफ्नै कारणले कमजोर बनेको बताएका छन्। नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान अन्तरगत केन्द्रीय प्रतिनिधिका रुपमा कपिलवस्तुमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सत्तारले यस्तो बताएका हुन्।
उनले भने, “विपक्षी तथा अन्य दल काग्रेससँग डराइरहेका छन् तर कांग्रेसका नेता तथा कार्यकर्ताहरु नै कांग्रेस सकियो भन्छन्, अब यस्तो कुरा स्वीकार्य हुँदैन ।” उहाँका अनुसार राजा र माओवादीले समेत सक्न नसकेको कांग्रेस सकिँदैन ।
“कांग्रेस विचार, हो सिद्धान्त हो । यो कहिल्यै सकिँदैन”, उनले भने, “केही समय जनतासँगको सामिप्यता कमजोर भएको हो, अब यसलाई पुनर्जीवन दिनुपर्छ । जनताको लागि मुख्य एजेण्डा पहिल्याए त्यसको आवाज उठाउनु पर्छ ।”
उनले जनताको कांग्रेस अभियान कपिलवस्तुबाटै सुरु गर्न आग्रह गर्दै गुटभन्दा माथि उठेर काम गर्न निर्देशन दिए। उनले भने, “गुटको रुपमा होइन, जिम्मेवारी र पदको गरिमा अनुसार काम गर्नुस्, गुट गौण कुरा हो ।”
उनले पार्टी भित्र केही समस्या रहेको जनाउँदै ती समस्या नेतालाई गाली मात्र गरेर समाधान नहुने स्पष्ट पारे। उनले भने, “फेद र टुप्पोको कुरा गरेर समय बर्बाद गर्नुभन्दा पार्टी बलियो बनाउने जनताका मुद्दामा छलफल गर्ने संस्कारको विकास गरौँ ।”
नेता सत्तारले पार्टीमा रुपान्तरणको विषय गौण भएको उल्लेख गर्दै बन्द कोठाभित्र नेतृत्वलाई गरिने गाली स्वाभाविक भए पनि सडकमा छताछुल्ल गर्नु गलत भएको बताए। उनले संघ, प्रदेश र स्थानीय तहमा ठुलो दल र सरकारमा भएका अनुभूति दिलाउन नसक्नु दुस्खद भएको बताए। उनले भने, ‘पार्टीले यो कुरालाई गम्भिर रुपमा लिनुपर्छ । म त्यसका लागि पहल गर्छु ।’
जनताले खोलेको जस्तो कांग्रेस बनाउन अभियान सुरु भएको उल्लेख गर्दे उनले भने, “हामी बिपीका कार्यकर्ता हौँ, सुन्ने ,मिल्ने र बहस गर्ने क्षमता र शक्ति छ । त्यो व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्छ ।