काठमाडौँ । नेपाली कांग्रेसभित्रको एक पक्ष सरकारमा सहभागी हुनु वा गठबन्धन जोगाउनु मात्रै उपलब्धि नहुने भन्दै आक्रोश चुलिन थालेको छ । सरकारले डेलिभरी दिन नसकेको भन्दै कांग्रेस नेताहरुले आक्रोश ब्यक्त गरिरहेका छन् । बैठकमा कांग्रेस नेताहरुले उठाएका प्रश्न र सरकारमा रहने नरहने विषयमा किन तीब्र छलफल हुन थालेको छ त ?
कांग्रेसभित्र एक पक्ष सरकारको उपस्थिति हुन नसकेको आरोप तीब्र छ । संस्थापन इतर पक्षले सरकारमा कांग्रेसको नेतृत्व कहिले हुन्छ भन्दै प्रश्न गर्न थालेको लामो समय भइसक्यो । तर, कांग्रेस ठूलो दल भएपनि स्पष्ट बहुमत नरहेको तथ्यलाई भने कांग्रेस नेताहरुले मनन् गर्न सकेका छैनन् ।
कांग्रेस सभापति शेरबहादुरे देउवाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन नगर्ने संकेत गरेपछि नै एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । त्यसपछि कांग्रेसले ठूलो मेहनत र प्रयासका बाबजुत सरकारमा पुनरागमन गर्न पाएको हो । यसमा इतरपक्षमा महामन्त्री गगन थापाले त प्रचण्डको खुलेरै प्रशंसा समेत गरेका थिए । तर, पछिल्लो समय सरकारले चालेका कदमको टार्गेट कांग्रेस नेताहरु बन्न थालेको भन्दै सरकारमा सहभागी मन्त्रीहरुबारे बोल्नै नपाएको व्यङ्ग्य चल्न थालेको छ ।
पौडेल पनि मन्त्रीको लाइनमा थिए । उनलाई अन्तिममा क्याम्प फेरेको र संसदीय दलको नेता चयनमा उथलपुथल गरेको भन्दै देउवाले मन्त्रीको सूचीबाट हटाइदिए । त्यसपछि पौडेल सरकार र मन्त्रीहरुबारे सकारात्मक भएनन् । कांग्रेस केन्द्रीय समिति बैठकमा अन्य नेताहरुले पनि पार्टी सरकारमा सहभागी भएर वा गठबन्धन जोगाएर मात्रै नहुने भन्दै सरकारको समिक्षा माग गर्न थालेका छन् । आफ्ना पार्टीका सहमहामन्त्रीमाथि खुकुरी प्रहार हुनुलाई समेत उनीहरुले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।
पार्टी सरकारमा भए पनि नेता कार्यकर्ता सुरक्षित नभएको भन्दै दुखेसो पोख्नेदेखि महंगी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्नेमा समेत बैठकमा प्रश्न उठेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारलाई जवाफदेही बनाउनेदेखि सरकारको कामको समिक्षा गर्नुपर्ने माग उठेपछि सभापति शेरबहादुर देउवाले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने हेर्न बाँकी छ । यद्यपी केहिदिन पहिले शेखर कोइराला गुटको बैठकमा उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले सरकारले राम्रो काम गरिरहेको र दोष लगाउने गरि कुनै गल्ति नगरेको दाबी गरेका थिए । गुरुङले पार्टी सभापतिले साथ नदिएको गुनासो गरेपनि सरकारबारे सकारात्मक विषय राखेका थिए । भ्रष्टाचार नियन्त्रण, अनियमितता र कमिसनखोरी अन्त्यका लागि सरकारलाई दबाब दिने गरि कांग्रेसले निर्णय गर्ला अथवा सरकारबारे गम्भीर निर्णय गर्ला भन्ने विषय भने देउवाको मुडमा भर पर्ने कतिपयको विश्लेषण छ ।