काठमाडौंमै ‘स्काइ–वाक’, बन्जी र स्विमिङ पुल; तामाकोसी–५ को ठेक्का आह्वान

काठमाडौंमै ‘स्काइ–वाक’, बन्जी र स्विमिङ पुल; तामाकोसी–५ को ठेक्का आह्वान

अर्थतन्त्रका सूचक सकारात्मक छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक दिशातिर अगाडि बढिरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बुधबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै उनले अर्थतन्त्र सुधार भएको दाबी गरेका हुन् । उनले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको समेत विवरण पेश गरे । सरकार अब ९.७ महिनाको वस्तु तथा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका बताएका प्रचण्डले कुल वस्तु व्यापारको घाटामा १५.२ प्रतिशतले कमी आएको जनाए । चुहावटमा कडाइका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको पनि प्रधानमन्त्री दाहालको भनाई छ । उनले बैंकको ब्याजदर क्रमश सुधार हँुदै गएको र गत वर्ष यही बेलालाई आधार मान्दा पर्यटक दोब्बर बढेको बताए ।

नक्कली बिलबाट अर्बौंको कारोबार

कर छली गर्न नक्कली बिल बनाउने गरेको तथ्य खुलेको छ । आन्तरिक राजस्व विभागले ३ महिनादेखि गरेको अनुसन्धानमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर कर छली भइरहेको तथ्य फेला परेको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले राजस्व छली गर्ने उद्देश्यले करिब १० अर्ब रुपैयाँ नक्कली बिल प्रयोग गरेका १ हजार ९८७ करदातामाथि छानबिन गर्न आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएका थिए । अहिलेसम्मको अनुसन्धानमा केही करदाताले ५.७ करोड रुपैयाँसम्मको नक्कली बिल बनाएर कारोबार गर्ने गरेको विभागले जनाएको छ । कागजी रुपमा दर्ता कम्पनीबाट आफू अनुकूल बिल खरिद गर्दै भ्याट फिर्ता लिने र आयकर दायित्व कम गर्न खर्च बढी देखाउने धन्दामा संलग्न गिरोहमाथि विभागले छानबिन गरेको थियो ।

तामाकोसी–५ निर्माणको ठेक्का आह्वान

माथिल्लो तामाकोसी (४५६ मेगावाट) को संरचना प्रयोग गरेर निर्माण हुने तामाकोसी–५ जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ । दुई महिनामासम्म आवेदन दिन मिल्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । आयोजनाको लागत २१ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको छ । जेठ ७ गते सञ्चय कोषसँग १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानीका लागि त्रिपक्षीय सम्झौता भएको हो । आयोजनाको निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन थाल्ने योजना छ । सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाका लागि करिब ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । सुरी दोभान भन्ने ठाउँमा पावर हाउस (विद्युत गृह) रहनेछ। विद्युत गृह माथिल्लो तामाकोसीको जस्तै भुमिगत हुने छ ।

सहकारीको साढे ११ अर्ब हिनामिना गरेको सीआईबीको दाबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ । सहकारी हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्मालाई यसरी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको हो । शर्मासहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारीका शाखा कार्यालयबाट १० अर्ब ७७ करोड ७६ लाख, तुलसी बहुमुखी सहकारी संस्थाको एक अर्ब ५४ करोड ७५ लाख रुपैयाँ हिनामिना गरेको पाइएको हो ।

विवरण पेश गर्न सरकारीलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले ३० दिन भित्र सबै सहकारीकालाई विवरण पेश गर्न निर्देशन दिएको छ । बुधबार महानगरको सहकारी विभागले एक सूचना जारी गर्दै महानगरपालिका भित्र रहेका सबै सहकारीलाई साधारण सभाको जानकारी, लेखापरीक्षणको प्रतिवेदनलगायतका विवरण पेश गर्न निर्देशन दिएको हो । विगत केही महिनादेखि सहकारी क्षेत्रमा संकट देखिइरहेका बेला महानगर भित्रका केही सहकारी संस्थाले साधारण सभाको जानकारी नपठाएको र लेखापरीक्षणको प्रतिवेदनसमेत नबुझाएको पाइएपछि विभागले विवरण पेश गर्न ३० दिने ‘अल्टिमेटम’ दिएको छ । महानगरले सूचना जारी भएको मितिले ३० कार्यदिन भित्र विवरण पेश नगरे विवरण नबुझाउने सहकारीको महानगरको सहकारी ऐनअनुसार दर्ता खारेजी गर्ने चेतावनी दिएको छ । महानगरको सहकारी ऐनको दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था रहेको छ ।

काठमाडौंमा तयार भयो ‘स्काइ–वाक’

अब काठमाडौंमै ’स्काइ–वाक’ गर्न पाइने भएको छ । ’वन्डर्स नेपाल’ कम्पनीले काठमाडौंको कमलादीमा यही असार १५ (शुक्रबार) देखि स्काइ–वाक टावर सञ्चालनमा ल्याउँदैछ। पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले बनाइएको यो टावरबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ । कुल १३ रोपनीमा फैलिएको टावरमा कम्पनीले दुई अर्ब रूपैयाँ लगानी गरेको छ । यहाँ टावरबाहेक वरपर पार्किङ, बगैंचा र सटरहरू छन् । टावर ७८ मिटर अग्लो छ जसमा २५ तला छन । २२ तलासम्म जान दुइटा लिफ्टको व्यवस्था छ । एउटा लिफ्टमा २४ जना अटाउँछन् । दुइटा भएकाले एकपटकमा ४८ जना लिफ्टमा चढेर तलमाथि गर्न सक्छन । कमलादीको स्काइ–वाक टावरलाई ’एड्भेन्चर हब’ का रूपमा विकास गर्दै आगामी दिनमा यहीँ बन्जी र स्वीङ पनि सञ्चालन गर्ने योजना कम्पनीको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *