काण्डका बादशाह महरा जोगिरहने अस्त्र के ?

काण्डका बादशाह महरा जोगिरहने अस्त्र के ?

काठमाडौं । माओवादीले तत्कालीन समयमा युद्ध थाल्नुअघि कृष्णबहादुर महरा शिक्षक थिए । त्यसैले पनि उनलाई माओवादीभित्र महरा सर भनेर चिनिन्छ ।

वर्षमान पुनदेखि नेत्रविक्रम चन्द विप्लवलाई समेत पढाएका महरा माओवादी शान्ति प्रक्रियामा आउँदा हर्ताकर्ता थिए । त्यसपछि उनी चिनियाँ नागरिकसँग रकम मागेको हुँदै गम्भीर अपराधमा मुछिए ।

विभिन्न काण्डमा मुछिएका महरा फेरि तस्करीको सुनमा पनि मुछिएका छन् । ६ पटक मन्त्री र उपप्रधानमन्त्री हुँदै सभामुख बनेका महरा माओवादी केन्द्रभित्र शक्तिशाली नेता थिए । उनलाई प्रचण्डले विश्वास गरेकै कारण उनी तत्कालीन नेकपाको पालामा सभामुख पनि बने । तर, उनको विगत प्रष्ट र सफा रहनै सकेन् ।

लडाकु शिविर प्रकरणमा समेत नाम मुछिएका उनी ०६२\६३ को जनआन्दोलन सफल भएपछि बनेको नयाँ सरकारमा सूचना तथा सञ्चारमन्त्री भए । त्यसपछि उनले कौडीको भाउमा फ्रिक्वेन्सी वितरण गरेको आरोप लाग्यो ।

त्यसबेला उनले पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजयराज सुमार्गीसँग मिलेर प्रिक्वेन्सी ‘प्लटिङ’ गरेर सस्तो मुल्यमा वितरण गरेको आरोप लाग्यो ।

माओवादी युद्धबाट आएको बेला उनले थुप्रै विवाद सिर्जना गरिदिए । जसमा उनका छोरा निर्मल महराको एनजीओमा चिनियाँ लगानी आएको समेत हल्ला चल्यो ।

यसरी महरा विवादमा पर्दै आए । तर, प्रचण्डले उनलाई सधैं विश्वास गरिरहे । त्यसपछि महराले एक चिनियाँ नागरिकलाई नेपालमा सांसद खरिद गर्न भन्दै ५० करोड मागेको अडियोे नै २०६७ भदौ १८ गते त्यसताकाको नेपाल वान टेलिभिजनले सार्वजनिक ग¥यो । जुन अडियोलाई महरा आफूले भने स्वीकार गरेनन् ।

यसपछि महरा ३३ किलो सुनकाण्डमा पनि मुछिए । ३३ किलो सुनमा महराको नाम मुछिएपछि उनी आफैले ठूला माछा समात्नुपर्ने र आफू सानो माछा भएको अभिव्यक्ति नै दिए ।

यो प्रकरणमा पनि उनी जोडिए तर, अनुसन्धान भने प्रभावकारी हुन सकेन् । विवादमा परिरहने महरालाई संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो ।

उनलाई सभामुख निवासबाटै पक्राउ पनि गरियो । तर, अदालतबाट सफाई पाएका महरासँग यस प्रकरणले प्रचण्ड भने असन्तुष्ट बने ।

प्रचण्डलाई मोहन वैद्य ’किरण’ नेतृत्वको पार्टी विभाजन हुँदा नै महराप्रति झस्को पसेको बताइन्छ । पार्टी फुटाउन उक्साएर आफू प्रचण्डसँगै रहेका महराले माओवादीबाट सत्ता प्राप्ति भने पाइरहे ।

त्यसपछि राजनीतिक रुपमा बौरिन नसकेका महराको नाम फेरि तस्करीको सुनमा जोडिन पुगेको छ । उनका छोरा राहुल महराको समेत नाम जोडिएर आएपछि त महरामाथि अनुसन्धानको माग नै गर्न थालेका छन् ।

भेपमार्फत सुन तस्करी प्रकरणमा महराको बाउ छोराको नाम जोडिन पुगेको हो । यसरी महरा कयौं विवादमा फस्दै आएका छन् । तर, उनले विज्ञप्ति नै जारी गरेर राजनीतिक पूर्वाग्रह साँध्न आफूमाथि आरोप लगाइएको दाबी गरेका छन् ।
यता, सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले त उनको बचाउ नै गरिसकेकी छन् । महराको नाम गलत तरिकाले जोडिएको उनको दाबी छ ।

रोल्पाको शिक्षकदेखि सभामुखसम्म पुगेका महरा किन विवादमा परिरहन्छन ? विवादमा पर्दा पनि उनी पार्टीभित्र निर्णायक बनिरहनुको कारण के हो ? यस्ता प्रश्न आम रुपमा उठ्ने गरेको छ । तर, प्रचण्डले पछिल्लो समय महरालाई स्पेस दिन नचाहेको प्रष्ट देखिन्छ ।

पार्टीमा प्रभावकारी भूमिका नदिएपनि महराले पछिल्लो समय विप्लवलाई माओवादीमा भित्र्याएर फेरि प्रचण्डमाथि दबाब सिर्जना गर्ने रणनीति अख्तियार गरेका छन् ।

उसोतः विप्लवलाई भित्र्याउन तल्लिन महरा वर्षमान पुन र जनार्दन शर्माबाट घेरिएका छन् । के महराले फेरि माओवादीमा शक्ति सन्तुलन कायम गरेर शक्तिशाली बन्लान ?

आरोपका बादशाह बनेका महरामाथि माओवादीले नै अनुसन्धान गर भन्ला ? यस्ता तमाम प्रश्न उब्जिएपनि माओवादी नेतृत्वको सरकारले आरोप लागिसकेपछि महरामाथि निष्पक्ष अनुसन्धान भने गर्नैपर्ने आवाज उठ्न थालेको छ ।

के प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरामाथि सुशासनको डण्डा चलाएर अनुसन्धानको बाटो खोज्लान् ? यो हेर्न भने कुर्नैपर्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *