कानूनले कसैलाई छुट दिँदैन : महामन्त्री शर्मा

कानूनले कसैलाई छुट दिँदैन : महामन्त्री शर्मा

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।

पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री शर्माले सुनकाण्डमा जोकोही संलग्न रहे पनि कानूनी कठघरामा ल्याउनुपर्ने र त्यसको लागि कांग्रेसले दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा उम्कन नदिने बताए।

सुनकाण्डका विषयमा अहिले सिआइवीले छानबिन गरिरहेको बताउँदै उनले जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट नरहेको, छानबिनको क्रममा रहेकाले यस कार्यमा कोको संलग्न छन् एवं कसरी भित्रिरहेको छ यी सबै कुराको अध्ययन गरेर प्रतिवेदन बनाएर आवश्यक छानबिन गर्ने स्पष्ट पारे।

कानुनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक दलले शक्ति र सत्ताको आडमा ढाकछोप गर्न नहुने, दल आफैँले बनाएको कानुन पालना गरेर भ्रष्टाचार, बेथितिविरुद्ध सबै दल एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । धरानमा भएको गौहत्या काण्ड गम्भीर रहेकाले धर्म निरपेक्षता रहेको देशमा कसैले पनि एकले अर्को जात, सम्प्रदायबीच खलल पुग्ने कार्य गर्न नहुने महामन्त्री शर्मा बताउछन्।

एक अर्को प्रसङ्गमा उनले हरेक राजनीतिक दलभित्र नेतृत्व विकल्प रहेको हुँदा एकले अर्कोलाई दोषरोपण गरेर राजनीति नचल्ने बताए। महामन्त्री शर्मा कांग्रेस क्षेत्र नं १ पाल्पाले आयोजना गरेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनका लागि आज पाल्पाको रामपुर आएका हुन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *