एजेन्सी।
भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो ।
“आज चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,” पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने । “गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको छ। ”
खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए ।
अधिकारीहरुका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा पहिचान भएका ती व्यक्ति हिन्दू मन्दिरको दर्शन गर्न जाँदै थिए ।
रातभरको भारी वर्षाका कारण उक्त सडक ठाउठाउमा पहिरोको माटो जम्मा भएको र यसका कारण सडक चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ ।