पोखरा । कालिका बहुमुखी क्याम्पसले ३२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै कालिकालाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए । उनले शिक्षामा गुणस्तर बढाउन राज्यले यस्तो सिस्टम बनाउनुपर्नेमा जोड दिए । देशभरका क्याम्पसमा विद्यार्थी घट्दै जानुमा विश्वविद्यालय स–सानो विषयमा चुकेको बताउँदै उनले समयमै भर्ना, परीक्षा र नतिजा प्रकाशनमात्रै भएमा शिक्षा क्षेत्र सुधार हुने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा क्याम्पसले जोड दिनुपर्ने बताए । क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको जर्नलसमेत उनले विमोचन गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्याम्पसलाई सुविधासम्पन्न सामुदायिक क्याम्पसको रूपमा स्थापित गराइ क्याम्पसबाट उत्पादन भएको जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन लागि परेको बताए ।
क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कालिका बहुमुखी क्याम्पसले क्युएएको प्रमाणपत्र प्राप्त गरी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन र बजारले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनुदान आयोगअन्तर्गत इक्युएएसीले निर्धारण गरेका सम्पूर्ण मापदण्ड पूरा गरी स्वाध्ययन प्रतिवेदन र पिआरटीले स्थलगत निरीक्षणका क्रममा दिएका सुझावको अन्तिम रेस्पोन्स रिपोर्ट विश्वविद्यालय अनुदान आयोगमा बुझाइएको उनले बताए ।
स्नातकोत्तर, स्नातक र प्लस टु तर्फ गरी ९ वटा शैक्षिक कार्यक्रममा १ हजार ७ सय ८५ विद्यार्थी अध्ययनरत
कार्यक्रममा क्याम्पस संरक्षकको प्रतिनिधित्व गर्दै डा. कृष्णा केसी, क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा, निवर्तमान क्याम्पस प्रमुख तथा प्राध्यापक संघका सभापति रवीन्द्रनाथ बास्तोला, पब्लिक क्याम्पस संघ गण्डकीका संयोजक ऋषिराम बुढाथोकी, सिनेटर ऋषि काफ्ले, प्राध्यापक वीरबहादुर बुढाथोकी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठलगायतले बोलेका थिए ।
क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । क्याम्पसले उत्कृष्ट अंक ल्याउने जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ ।
क्याम्पस व्यवस्थापन समतिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा पोखरा १४ का अध्यक्ष बोधबहादुर कार्कीले स्वागत र सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।
कालिका बहुमुखी क्याम्पसमा स्नातकोत्तर, स्नातक र प्लस टु तर्फ गरी ९ वटा शैक्षिक कार्यक्रममा १ हजार ७ सय ८५ विद्यार्थी अध्ययनरत छन् ।