काठमाडौं । कालीमाटी तरकारी बजारका व्यापारीहरुले ठूलो परिमाणमा गोलभेँडा सडकमा मिल्काएका छन् । बजारमा मूल्य नपाएको भन्दै उनीहरुले गोलभेडा सडकमा फालेर ‘गोलभेंडा होलिडे’ मनाएका हुन् ।
केही समयअघि गोलभेडाको खुद्रा मूल्य नै रु १०० हाराहारी पुगेको काठडमाडौँमा अहिले गोलभेँडा बिकेन भनेर उनीहरुले मिल्काए हुन् । होलसेलमा रु ६ का दरले समेत गोलभेडा नबिकेको ती व्यापारीहरुको दाबी छ । जब कि भारतीय गोलभेँडा रु ४० प्रतिकिलोसम्म काठमाडौँमा बिक्री भइरहेको उनीहरुले बताएका छन् ।
बजारमा खपत हुन छाडेको र मूल्य नपाएकोले गोलभेंडा सडकमा फ्याँकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन् । उनका अनुसार आज आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकिएको हो ।
यसमा चलखेल रहेको समेत केही व्यापारीले आशंका गरेका छन् । काठमाडौँमा मूल्य नै नपाएको भन्ने कुरा शंकास्पद रहेको र मूल्य बढाउनका लागि केही बिचौलियाले यसरी फ्याँकेको हुन सक्ने बताइएको छ । करिब ५ हजार किसानको उत्पादन उक्त गोलभेँडा सडकमा मिल्काइएको हो ।