
कपिलवस्तु — कृष्णनगर नगरपालिकाका वडा नम्बर १२ र वडा नम्बर ४ मा हालसम्म पनि कालोपत्रे सडकको सुविधा पुग्न सकेको छैन। साबिकका भगवानपुर र सिर्सिहवा गाविस हाल क्रमशः वडा नम्बर १२ र ४ मा परिणत भए पनि यहाँको भौतिक पूर्वाधार विकासमा खासै ध्यान दिइएको छैन।
नगरपालिकाका अधिकांश वडामा मुख्य सडक कालोपत्रे भइसकेका छन्, तर यी दुई वडाका बासिन्दाले अझै पनि धुलो र हिलोको कष्टदायी बाटो प्रयोग गर्न बाध्य छन्। नगरकै सबैभन्दा ठूलो वडा नम्बर १२ मा १५ वटा गाउँ रहेका छन्, जसको पहुँच शिक्षा, स्वास्थ्य र पूर्वाधारमा कमजोर छ।
वडा नम्बर १२ र ४ जोड्ने मुख्य सडक झन्डेनगर–सिर्सिहवा हुँदै मधुनगर हुलाकी मार्गसम्म पुर्याउने योजना सुरु गरिएको भए पनि हाल काम रोकिएको छ। योजनाको काम रोकिँदा कालोपत्रे सडक निर्माण कहिले सम्पन्न हुने हो भन्ने अनिश्चितता छ।
स्थानीय बासिन्दा भन्छन्, “सुख्खा याममा धुलोले श्वास फेर्न गाह्रो हुन्छ, बर्खामा त हिलोमा हिँड्नै नसकिने अवस्था हुन्छ।”
नागरिकहरूले अब स्थानीय सरकार मात्र होइन, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिहरूको समेत ध्यानाकर्षण गराउँदै आएका छन्। स्थानीयस्तरको मात्रै पहल पर्याप्त नहुने भएकाले प्रदेशसभा तथा संघीय संसदका जनप्रतिनिधिहरूले तत्काल पहल गरी योजना अघि बढाउनुपर्ने माग चुलिँदो छ।
विकासमा पछाडि पारिएका यी वडाका नागरिकहरूले समान पहुँच र अधिकारको प्रत्याभूति गराउनेतर्फ राज्यका सबै तहको गम्भीर ध्यान जानु जरुरी देखिन्छ।