
कपिलवस्तु, जेठ १० – जिल्लाको कृष्णनगर नगरपालिका–३ स्थित ट्रान्समिटर क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिँदै झोलाबाट ठूलो मात्रामा अवैध भारतीय रुपैयाँ फेला पारेको छ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार ओखलढुङ्गा स्थायी घर भई हाल चम्पादेवी गाउँपालिका–१०, रानीवन बस्ने ४३ वर्षीय रामकुमार तोलाङ्गीलाई शंकास्पद गतिविधिमा रहेको पाइएपछि शरीर तथा झोलाको खानतलासी गर्दा झोलामा प्लास्टिकमा राखिएको १० गड्डी भारतीय ५०० दरका नोट, कुल ८ लाख नेपाली रुपैयाँ बराबर भेटिएको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ। त्यसैदिन कृष्णनगर नगरपालिका–६, भिल्मी चोकस्थितबाट चोरी निकासी गरिएको १३,५०० रुपैयाँ बराबरको १५० केजी चिनीसमेत बरामद गरिएको छ।
यसैगरी सोही दिन महाराजगञ्ज नगरपालिका–९, कुसुहवा बढनीमा चोरी पैठारी गरिएको सामग्रीसहित २ थान मोटरसाइकल, ३ बोरा सुकेको रातो खुर्सानी, जिउँदो ब्रोइलर कुखुरा पार्लेजी बिस्कुट फेला पारिएको छ। बरामद गरिएका सामानहरूको कुल मूल्य करीब २ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
तीनवटै घटनामा बरामद भएको नगद तथा सामग्रीको कूल मूल्य करिब १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय तथा कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको हो।