कृष्णनगरमा छठ पर्व दिनप्रतिदिन भव्य बन्दै, यस वर्ष देखियो अभूतपूर्व भीड

कृष्णनगरमा छठ पर्व दिनप्रतिदिन भव्य बन्दै, यस वर्ष देखियो अभूतपूर्व भीड

कपिलवस्तु, कात्तिक ११ — कपिलवस्तु जिल्लाको कृष्णनगरमा यस वर्ष पनि छठ पर्व अत्यन्तै भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न गरिएको छ। सूर्यदेवको आराधना र आस्थाको पर्वका रूपमा मनाइने छठमा हजारौं श्रद्धालुहरू पोखरा, खोलानाला र तालतलैया किनारमा भेला भएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदै पूजा–अर्चना गरेका थिए।

स्थानीयहरूका अनुसार केही वर्षअघिसम्म सीमित परिवारहरूले मात्र छठ पर्व मनाउने गरेका भए पनि पछिल्ला वर्षहरूमा यसको भव्यता र सहभागीता दुवै बढ्दै गएको छ। यस वर्ष कृष्णनगर नगरपालिका–१ सेमरा, वडा नं. ८ झरुवाको पोखरी र वडा नं. १२ पोखरी , बिजयनगर को गणेशपुरको पोखरी लगायत स्थानमा विशेष भीड देखिएको थियो।

श्रद्धालुहरूले चार दिनसम्म चल्ने यो पर्वमा उपवास, संकल्प, खरना र सूर्यअर्घा गरेर आफ्नो आस्था प्रदर्शन गरेका थिए। महिलाहरू परम्परागत भेषभूषामा सुसज्जित भएर पूजा सामग्री सहित  पोखरी छठ घाटमा पुगेका थिए भने पुरुषहरूले व्यवस्थापन र सुरक्षामा सक्रिय सहयोग गरेका थिए।
नगरपालिका र स्थानीय युवाहरूले स्थल सफाइ, प्रकाशको व्यवस्था र आवतजावत सुचारु गर्न सहयोग पुर्‍याएका थिए भने  प्रहरी प्रशासनले सुरक्षाको कडा व्यवस्था मिलाएको थियो।

सूर्यदेवप्रतिको आस्था, परिवारको सुख–समृद्धि र आरोग्यको कामनासँग सम्बन्धित यो पर्वले कृष्णनगरका धार्मिक, सामाजिक र सांस्कृतिक एकतालाई अझ मजबुत बनाएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *