
कमलेशचन्द्र गुप्त , ९ माघ —
अव्यवस्थित जीवनशैलीलाई सुधार गर्दै दीर्घकालीन नसर्ने रोगहरूको नियन्त्रण र स्वस्थ समाज निर्माण गर्न कृष्णनगरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डॉ. नलिन नाथ तिवारी, डॉ. आशीष चौधरी, र कविराज हरीलाल उपाध्याय (कपिलवस्तु आयुर्वेदका प्रशिक्षकहरू) तथा डॉ. नागेश्वर प्रसाद मिश्र (कविराज नागरिक आरोग्य सेवा केन्द्र) ले सहभागिता जनाउँदै आफ्नो ज्ञान र अनुभव प्रस्तुत गरेका थिए।
मेयर रजत प्रताप शाहले स्वस्थ जीवनशैली र सकारात्मक गतिविधिहरू जस्तै सरसफाइ, शौचालय प्रयोग, स्वस्थ आहार, योग र व्यायामजस्ता अभ्यासले धेरै रोगहरूबाट बच्न सकिने बताउँदै नागरिक स्वास्थ्यमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने धारणा राखे। “व्यक्ति आफैं स्वस्थ भए मात्र समाज समृद्ध बन्न सक्छ,” शाहले थपे।
कार्यक्रममा विद्यालयका २५ जना शिक्षक, महिला स्वयंसेविका, नागरिक आरोग्य अभियन्ता, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले आफूले सिकेका ज्ञान र अनुभवलाई समुदायमा पुर्याउँदै सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाए।
स्वस्थ जीवनशैलीको महत्व र दीर्घकालीन नसर्ने रोगहरूको नियन्त्रणबारे जनचेतना फैलाउने यो कार्यक्रमले स्थानीय समुदायलाई जागरूक बनाउने विश्वास गरिएको छ।