
कमलेश चन्द्र गुप्त कृष्णनगर ।
कृष्णनगर नगरपालिकाको पशु सेवा शाखा बहादुरगंजको आयोजनामा जुनोटिक रोग सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ। आज सम्पन्न भएको उक्त गोष्ठीमा स्थानीय पशुपालक किसान, मासु पसल व्यवसायी र पत्रकारहरूको सहभागिता रहेको थियो।कार्यक्रमको अध्यक्षता पशु सेवा शाखा प्रमुख असर्फी प्रसाद यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी उपस्थित हुनुहुन्थ्यो। गोष्ठीको सहजीकरण पशु विज्ञ केन्द्र तौलिहवाका डाक्टर प्रवेज आलम खानले गर्नुभएको थियो।गोष्ठीमा जुनोटिक रोगहरू, जुन मानव र पशु दुवैमा सर्ने रोगहरू हुन्, बारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई यस्ता रोगहरूको रोकथाम, नियन्त्रण र सचेतनाबारे जानकारी दिइएको थियो। पशुपालक किसान र मासु पसल व्यवसायीहरूलाई स्वच्छता र सुरक्षित पशुजन्य उत्पादनको महत्त्वबारे प्रशिक्षण दिइएको थियो।कार्यक्रममा बोल्दै उपमेयर चौधरीले यस्ता गोष्ठीले स्थानीय समुदायमा जुनोटिक रोगको जोखिम कम गर्न र पशुपालन व्यवसायलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यस्तै, पशु सेवा शाखा प्रमुख यादवले पशु र मानव स्वास्थ्यबीचको सम्बन्धलाई बलियो बनाउन यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।सहभागीहरूले गोष्ठीबाट प्राप्त ज्ञानले आफ्नो व्यवसाय र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा उपस्थित पत्रकारहरूले पनि जुनोटिक रोगबारे जनचेतना फैलाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।यो गोष्ठीले स्थानीय स्तरमा पशु स्वास्थ्य र मानव स्वास्थ्यबीचको समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।