
कृष्णनगर, २०८१ फागुन ११ –
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ यात्रुगेट क्षेत्रमा नेपालबाट भारततर्फ अवैध रूपमा लागुऔषध चरेस तस्करी गर्ने प्रयास विफल पार्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
इप्रकाबाट खटिएको प्रहरी विशेष टोलीले शंका लागेपछि रोकी चेकजाँच गर्दा प्रेम सरी रोका (४८, रोल्पा), सरिता पुन मगर (२६, रुकुम पूर्व) र सुक लाल घर्ती मगर (६६, कपिलवस्तु) को साथबाट कुल १४ किलो ७७४ ग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला परेको छ। उनीहरूले सेतो प्लास्टिक, कार्टुन टेप, कोरा कपडा, धागो र बेल्टको सहायताले कम्मरमा बाँधेर लागुऔषध लुकाएका थिए।
बरामद सामग्रीमध्ये प्रेम सरी रोकासँग ५.९६८ किलो, सरिता पुन मगरसँग ५.६७८ किलो, र सुक लाल घर्ती मगरसँग ३.१२८ किलो चरेस फेला परेको छ। साथै, उनीहरूबाट तीन वटा मोबाइल फोन पनि बरामद गरिएको छ।
पक्राउ परेकाहरूमाथि सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुरज खत्रीले जनाएका छन ।