
कृष्णनगर , २४ माघ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाभित्र सञ्चालित माछा मासु पसलहरूमा नगरपालिकाले अनुगमन तथा निरीक्षण गरेको छ। नगर उपप्रमुख, प्रशासकीय प्रमुख खेमराज देवकोटा, राजस्व शाखा प्रमुख ईश्वरी पौडेल, पशु शाखा प्रमुख असर्फी प्रसाद यादव, पशु क्वारेन्टाइनका डाक्टर दयाराम चौधरी, जनप्रतिनिधि राहुल मोदनवाल, नगर प्रहरी तथा पत्रकारहरूको उपस्थितिमा कृष्णनगर बजारभित्र रहेका मासु पसलहरूमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा दर्ता नभएका पसलहरूलाई अनिवार्य रूपमा दर्ता गराउन निर्देशन दिइएको छ भने सरसफाइ नगरेका पसलहरूलाई सचेत गराउँदै अर्को पटक पनि मापदण्ड पूरा नगरे कारबाही गरिने चेतावनी दिइएको छ। नगरपालिकाले स्वस्थकर तथा स्वच्छ मासु विक्री वितरणलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गरिने जनाएको छ।