
कमलेशचन्द्र गुप्त ,
कृष्णनगर नगरपालिकाले अति विपन्न नागरिकका लागि जस्तापाता वितरण कार्यक्रमअन्तर्गत दोस्रो चरणमा ४०४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ। संघीय अनुदानबाट सञ्चालित यस योजनाले तीन वर्षमा १ हजार घरधुरीलाई लक्षित गरेको हो।
नगरप्रमुख रजत प्रताप शाहका अनुसार प्रत्येक घरधुरीलाई १३ थान जस्तापाता र ८ थान एसएम पाइप उपलब्ध गराइएको छ। साथै, जडानका लागि आवश्यक पर्ने नट, बोल्ट तथा हुक पनि निःशुल्क प्रदान गरिएको छ। “विपन्न परिवारको बासस्थानमा सुधार ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो,” नगर प्रमुख शाहले बताए।
उपप्रमुख आरती चौधरीले समेत गरिब नागरिकको सामाजिक सुरक्षाका लागि यो कार्यक्रम महत्वपूर्ण भएको बताइन्। प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार दोस्रो चरणमा ४०४ घरधुरीलाई समेटिएको छ भने आगामी वर्षमा बाँकी लक्षित परिवारलाई समेट्ने तयारी गरिएको छ।
वडागत विवरणअनुसार, वडा नं. १ मा ४१, वडा नं. २ मा २२, वडा नं. ३ मा २३, वडा नं. ४ मा २७, वडा नं. ५ मा ३९, वडा नं. ६ मा ३३, वडा नं. ७ मा ४८, वडा नं. ८ मा ३४, वडा नं. ९ मा ४०, वडा नं. १० मा ३२, वडा नं. ११ मा २६ र वडा नं. १२ मा ३९ घरधुरीलाई जस्तापाता वितरण गरिएको हो।
यस कार्यक्रमले स्थानीय गरिब र जोखिममा रहेका नागरिकहरूलाई सहज बसोबासको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।



