
कमलेशचन्द्र गुप्त — कृष्णनगर नगरपालिका–७ स्थित श्री बुद्ध ज्योति आधारभूत विद्यालय, कौडीढिवामा अध्ययनरत विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूका लागि स्वच्छ र सुरक्षित खानेपानीको सुनिश्चितता गर्न RO प्रविधिसहितको वाटर कुलर जडान गरी आजदेखि औपचारिक रूपमा संचालनमा आएको छ।
कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको यो प्रणाली विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै जडान गरिएको हो। शुद्ध खानेपानीको अभावमा हुने विभिन्न स्वास्थ्य समस्याबाट विद्यार्थी तथा कर्मचारीहरूलाई जोगाउने उद्देश्यले यो पहल गरिएको विद्यालय प्रशासनले जनाएको छ।
सो अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक कौशल किशोर यादवले नगरपालिका प्रमुखप्रति आभार व्यक्त गर्दै भने, “आदरणीय नगर प्रमुखज्युलाई म आफ्नो व्यक्तिगत तथा सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँको सक्रिय पहलले आज हाम्रो विद्यालयमा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएको छ।”
स्थानीय तहको समुचित सहयोग र विद्यालय व्यवस्थापनको उत्कृष्ट कार्यशैलीका कारण श्री बुद्ध ज्योति आधारभूत विद्यालयलाई कृष्णनगर नगरपालिकाको सबैभन्दा राम्रो व्यवस्थापन भएको विद्यालयका रूपमा लिइन्छ।