
महेन्द्र यादव , ३१ जेष्ठ —
कृष्णनगर नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सामुदायिक कुकुरहरुलाई लक्षित गरी निःशुल्क बन्ध्याकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। ‘अवरोध हटाऔं, रेबीज उन्मूलन गरौं’ भन्ने नारासहित सञ्चालित कार्यक्रममा ३३ वटा सामुदायिक कुकुरहरुको सफल बन्ध्याकरण (सर्जरी) गरिएको हो।
पशु सेवा शाखाको अगुवाइमा सम्पन्न कार्यक्रममा नेशनल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर, चागुनारायण, काठमाडौंको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रमले रेबीज नियन्त्रण, कुकुरको अत्यधिक संख्या व्यवस्थापन तथा मानव–पशु सहअस्तित्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ। पशु सेवा शाखाका अनुसार बन्ध्याकरण गरिएका कुकुरहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई निगरानीमा राखिएको छ।
स्थानीय बासिन्दाहरुले कुकुरको संख्या नियन्त्रणसँगै वातावरणीय सरसफाइ र सुरक्षामा मद्दत पुग्ने भन्दै अभियानको प्रशंसा गरेका छन्।