कपिलवस्तु, २८भदौ – जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ०२, लिङगेट क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकलमा सवार दुई व्यक्ति पक्राउ परेका छन्। कृष्णनगर प्रहरीका अनुसार शंका लागेर गरिएको चेकजाँचको क्रममा मोटरसाइकल चालक कमाल अहमद खाँ (३६ वर्ष), जो कपिलवस्तुको शिवराज नगरपालिकाका बासिन्दा हुन्, र सँगै सवार अजय यादव (२२ वर्ष) पक्राउ परेका हुन्।
पक्राउ गरिएको मोटरसाइकल (नं. लु ९४ प १४७१) मा सवार अजय यादवको साथबाट ५०५ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ र लागू औषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुरज खत्रीले बताएका छन ।