
कृष्णनगर, कपिलवस्तु — कृष्णनगर नगरपालिका–६ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गम्भीर अनियमितता सार्वजनिक भएको छ। श्रम नगरेका व्यक्तिहरूका नाममा भुक्तानी भएको विषय सामाजिक सञ्जालमा भाइरल बनेसँगै जनस्तरमा तीव्र प्रतिक्रिया देखिएको छ।
यो विषय त्यतिबेला उजागर भयो जब नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइटमार्फत कामदारको नाम, कामको विवरण र भुक्तानी गरिएको रकमसम्बन्धी विवरण सार्वजनिक गर्यो। विवरण सार्वजनिक भएपछि अनियमितताको पोल खुलेको हो।

सबैभन्दा चकित बनाउने पक्ष के छ भने काममा सहभागी नै नभएका, हाल भारतको मुम्बई र अन्य विदेशी मुलुकमा रहेका व्यक्तिहरूका खातामा समेत भुक्तानी गरिएको देखिएको छ। यस्ता व्यक्तिहरूले कुनै पनि काम नगरीकन सरकारी स्रोतबाट रकम प्राप्त गरेका छन्।
यस सम्बन्धमा नगरपालिकाका रोजगार संयोजक ईश्वरी पौडेलले प्रतिक्रिया दिँदै दोष वडा अध्यक्ष जावेद आलमको सिफारिसमा पारेका छन्। “वडा अध्यक्ष जावेदले सिफारिस गरेर नाम पठाएकोले हामीले त्यसैअनुसार खातामा रकम पठाएका हौं,” पौडेलले बताए।
तर जनप्रतिनिधिको सिफारिसको नाममा यस्तो बजेट दोहन हुनु गम्भीर विषय भएको भन्दै स्थानीयबासी आक्रोशित छन्। सामाजिक सञ्जालमा सार्वजनिक सूचीका आधारमा ‘कमाउने स्रोत बनाइएको’ आरोप लागेको छ।
यस कार्यक्रममा कति जना सहभागी भए, कसले कति दिन काम गरे र कसलाई कति रकम भुक्तानी भयो भन्ने सम्पूर्ण विवरण अहिले सार्वजनिक भइसकेको छ। यस्ता विवरणकै आधारमा विदेशमा रहेका व्यक्तिलाई समेत भुक्तानी भएको पुष्टि भएको हो।
स्थानिय बासिन्दाले सामाजिक संजालमा सो प्रकरणको तत्काल छानबिन गरी दोषीलाई कारवाहीको माग गरेका छन्। रोजगार जस्तो महत्वपुर्ण कार्यक्रम भ्रष्टाचारको अखडा बन्नु निन्दनीय भएको स्थानीयको धारणा छ।