कृष्णनगर–९ का किशोरीहरूका लागि क्षमता विकास तालिम

कृष्णनगर–९ का किशोरीहरूका लागि क्षमता विकास तालिम

कपिलवस्तु, असार १५– तिलौराकोट होटलमा २०८२ साल असार १२ देखि १४ गतेसम्म दलित सामाजिक विकास केन्द्रको आयोजनामा र द एशिया फाउण्डेशनको सहयोगमा ‘लोटस कार्यक्रम’ अन्तर्गत तीन दिने किशोरी क्षमता विकास तालिम सम्पन्न भएको छ।
कृष्णनगर नगरपालिका–९ का पाँचवटा किशोरी समूहका २५ जना सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा समुदायमा रहेका किशोरीहरूसँग सम्बन्धित समस्याहरूमा छलफल गरिएको थियो। उनीहरूको भोगाइ, अनुभव र सामाजिक हानिकारक परम्परागत अभ्यासहरूमा गहिरो छलफल गरी परिवर्तनमा नेतृत्व विकास गर्ने उद्देश्य राखिएको तालिमले महत्वपूर्ण प्रभाव पारेको छ।
तालिमको क्रममा धेरैजसो किशोरीहरूले समुदायमा यौनजन्य हिंसाका घटना शेयर गरेका थिए। महिनावारीसम्बन्धी जानकारीको कमी, मिथक र लाजको कारणले खुलेर कुरा गर्न नसकिएको बताउँदै सहभागी किशोरीहरूले तालिमबाट नयाँ ज्ञान पाएको अनुभव गरेका छन्।
किशोरी अञ्जली चौधरीले आफ्नो समुदायमा महिनावारीका क्रममा घरको भित्तामा गोबरले पाँच वटा धर्को तानी दुईवटा काटेर तीन वटा छोडिदिने परम्परा रहेको र त्यसो गर्दा महिनावारी तीन दिनमै सकिने विश्वास रहेको बताइन्। किशोरी रुवी रैदासले महिनावारीबारे कहिल्यै कसैसँग सोध्न नसकेको तर तालिममा खुलेर खेल र छलफलका माध्यमबाट धेरै कुरा सिक्न पाएको जनाइन्।
तालिममार्फत किशोरीहरूमा आत्मविश्वास अभिवृद्धि हुनुका साथै उनीहरूलाई समाज रूपान्तरणका लागि सक्षम र सचेत बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *