केपीको ओरालो यात्रा : अहमता कि कमजोर रणनीति ?

केपीको ओरालो यात्रा : अहमता कि कमजोर रणनीति ?

काठमाडौं । नेकपा एमाले समानुपातिक मतका हिसाबले अहिले पनि सबैभन्दा ठूलो पार्टी हो । संसदीय अंकगणितका आधारमा दोश्रो ठूलो दल भएपनि सांगठनिक हिसाबले पनि बलियो ठानिएको एमाले कोशी प्रदेशको पछिल्लो सत्ता अवस्थाले कमजोर देखिएको छ । एमाले सत्ताबाट किन बरालिदैछ ? एमालेविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष मोर्चाबन्दी नै हुने अवस्था किन आयो त ?

कम्युनिष्ट विचारलाई समर्थन गर्नेहरुको ठूलो जमातले एमालेलाई पत्याउने गरेको देखिन्छ । गएको चुनावमा पनि समानुपातिक मतमा पनि एमालेले नै लोकप्रिय मत ल्याएको थियो । तर, घेराबन्दीका वावजूत पनि केन्द्रिय सत्तामा पाइला हालेको एमाले फेरि सत्ताबिहीन बन्न पुगेको छ ।

एमालेले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ’प्रचण्ड’लाई विश्वास गर्ने हो भने एमाले अध्यक्ष केपी ओलीले संसदमा राखेको विचारका कारण नै सत्ता गठबन्धन फेरिने अवस्था बनेको हो ।

ओलीले संसद बैठकमा संसद विघटनलाई सहि थियो भन्ने विषय राखेपछि प्रचण्ड झस्किन पुगेको बताउने गरेका छन् ।

ओली र प्रचण्डबीच संसद विघटनका कुरा नउठाउने भन्ने सहमति जुटेको थियो । तर, त्यो कुरा ओलीले अस्वीकार गरिदिए । जसका कारण एमाले सत्ताबाट बाहिरिने प्रमुख कारण बन्न पुग्यो ।

ओलीले एमालेलाई आफ्नो नियन्त्रणमा राख्न सफल भएका छन् । उनले एमालेमा आफूले भनेको कुरा तत्काल स्थापित गराउन मात्रै होइन लागू गराउन समेत सक्छन् ।

यसरी हेर्दा ओली आफूले गर्ने काममा दृढ मात्रै नभएर दत्तचित्त भएर लाग्ने नेतामा पर्छन् । तर, ओलीले कतिपय कुरामा लिएका अडान फेरि उनीविरुद्ध नै लागू हुने गर्दा एमालेले समस्या भोग्दै आएको छ ।

तत्कालीन नेकपा विभाजनमा पनि सत्ता सहमति थियो । ओलीले आफूलाई पार्टीको पहिलो अध्यक्ष मात्रै बनाउन खोजेनन्, उनले आधाआधा कार्यकाल प्रधानमन्त्री लिने कुरा समेत कार्यान्वयनमा अनुदार बनिदिएको आरोप छ ।

आफूले सत्ता गुमाउने भय देखिएपछि ओलीले संसद विघटन नै गरिदिएको कुराले तर्सिएको मुलुकको राजनीति विस्तारै ट्र्याकमा आएको देखिएपनि फेरि एमालेले कोशीमा सरकार गुमाएसँगै सत्ताबाट पूर्णरुपमा बाहिरिएको छ ।

एमालेमा ओली एकल शक्तिशाली जस्ता देखिन्छन् । उनले चाहेका विषयमा एमालेले एकमतमै निर्णय गरिदिन्छ । ओलीले केन्द्रिय राजनीतिमा खेलेको भूमिका र राष्ट्रिय अन्तराष्ट्रिय दबाबका कारण पनि एमालेविरुद्ध मोर्चाबन्दी स्वभाविक बन्न पुग्छ ।

अझं शक्तिशाली बनेको एमाले विस्तारै नयाँ दलको चपेटोमा पर्न थालेपनि एमालेले त्यो कुरालाई अनुभूत गर्न नसक्दा पनि केहि समस्या देखिन थालेका छन् ।

नेताहरुले अझैं पनि सांगठनिक रुपमा आफू नै बलियो रहेको भन्ने ठानेका कारण पनि एमालेले शक्ति मात्रै नभएर सत्ता पनि गुमाउने अवस्था बनेको छ ।

ओलीलाई आएको मौकामाथि हुने राजनीतिका कारण पनि एमालेविरुद्ध शक्ति संघर्ष हुने देखिन्छ ।

साना कम्युनिष्ट घटकलाई विश्वासमा लिन नसक्नु र गरिएका सहमतिमा अडिग रहन नसक्नुका कारण एमालेले संकट व्यहोर्नुपरेको विश्लेषण पछिल्ला दिनमा चर्चामा छन् ।

ओलीले पार्टी सत्तालाई केन्द्रिकृत गरेर राखेका कारण पनि संकट आइपरेको विश्वास कतिपयको छ ।

एस म्यानहरुको जमघट एमालेमा हुन लागेको भन्दै आलोचना समेत हुने गरेको छ । तर, ओलीले एमालेलाई फेरि सत्तामा फर्काउन साना कम्युनिष्ट पार्टीहरुलाई साथ लिनुको विकल्प देखिदैन ।

कोशीमा पनि एमालेले कम्युनिष्ट भन्दा राजावादी दलसँगको सहकार्यलाई बढी विश्वास गरेको छ । अझं मध्यावधिको चेतावनी दिदै आएको एमालेलाई पहिचानवादीहरुको आन्दोलन र अन्य राजनीतिक दलहरुले एमालेविरुद्ध पहिचानको मुद्दालाई प्रयोग गरेका कारण मध्यावधी एमालेका लागि हितकर होला ? यस्ता प्रश्न थुप्रै उब्जिएका छन् ।

सत्ता र सरकारबाट एमाले किन बाहिरिनु प¥यो ? के कारण सत्तामा लामो समय रहन सकिएन ? गुमेको सत्ता प्राप्तिमा राजनीतिक चाल चलेको एमाले कहाँ चुक्यो ?

अध्यक्ष ओलीका कारण पार्टीले के कस्ता आरोह–अवरोह भोग्दै आएको छ ? लगाएत विषय विश्लेषण गर्दै एमालेले नयाँ कोर्सका लागि तयारी नगरे अझैं ओरालो यात्रा तय नगर्ला भन्न सकिने अवस्था छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *