के ओली आफै ‘भ्रष्टाचारी’ हुन् त ? या उनले भनेका जति सबै निर्दोष हुन् ? (भिडियो)

के ओली आफै ‘भ्रष्टाचारी’ हुन् त ? या उनले भनेका जति सबै निर्दोष हुन् ? (भिडियो)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक बताइसकेका छन् । अनुसन्धान गर्ने प्रहरी, मुद्दा लेख्ने वकिल, फैसला गर्ने न्यायाधीशलाई समेत अहिले को निर्दोष, को दोषी हो भन्ने थाहा छैन । तर एमाले अध्यक्ष ओलीको इजलासले फैसला गरिसकेको छ– निर्दोषलाई फसाउन खोजियो भनेर । अर्थात् अध्यक्ष ओलीले यस प्रकरणमा को–को निर्दोष छन् भन्ने कुरा थाहा पाइसक्नुभएको छ । ३० जनामध्ये ओलीले जतिलाई निर्दोष भन्नुभएको छ, अब दूनियाँले मानिदिनु पर्ने भएको छ कि त्यसबाहेकका बाँकी सबै दोषी हुन् ।

अस्ति नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा बोल्दा एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्य सामाग्री खरिद र पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार गरेको आरोप लगाए भन्दै एमालेले संसदमा हंगामा गर्यो ।

सांसद दाहालले जे बोलेका थिए, त्यो संसदको रेकर्डबाट हट्यो, तर दूनियाँको रेकर्डबाट हटेको छैन । उनको अभिव्यक्ति केही बेरमा राख्दैछु । त्यो भन्दा अगाडि के प्रष्ट हुन जरुरी छ भने – सांसद दाहालले वाइड बडी र यती समूहसँग मिलेर गरिएको भ्रष्टाचारको कुरा पनि निकालेका छन् । तर एमालेको आपत्ति चाहिँ जलहरी र औषधि खरिदमा मात्रै छ । एमालेले वाइड बडी र यति समूहसँगको सेटिङमा आपत्ति जनाएको छैन ।

अब प्रश्न उठ्छ के सांसद दाहालले केपी ओलीले नै भ्रष्टाचार गरे भनेका थिए ? उनको यो भनाइ हेर्नुहोस् (भिडियाेमा)।

दर्शकहरुले पनि सुन्नुभयो कि सांसद दाहालले ‘ओली प्रधानमन्त्री हुँदा यती, ओम्नी, वाइड बडी, जलहरीका काण्ड आए’ भनेका हुन् । ‘ओलीले नै भ्रष्टाचार गरे’ भनेका छैनन् ।

यी काण्डहरु ओलीका पालामा प्रकट भएका काण्ड नै हुन् त यसमा आपत्ति के भयो ?

अहिले जसरी नक्कली शरणार्थी प्रकरणमा आफ्ना कार्यकर्ताका प्रिय जननेता केपी ओलीले निर्दोष र दोशी छुट्याइ सके, त्यसै गरी वाइड बडी काण्डमा उनले रवीन्द अधिकारी निर्दोष छन् भनेर फैसला गरिसकेका थिए । तर संसदीय उपसमितिले नै वाइड वडी खरिदमा भ्रष्टाचार भएको दावी गरेको थियो । ७० करोड काण्डमा पनि गोकुल बास्कोटालाई ओलीले सुनपानी छर्कि सकेका थिए । अनि यती समूहसँगको सेटिङमा ऐन नै संशोधन गरेर गोकर्ण रिसोर्टको जंगल सुम्पिसकेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको पृष्ठभूमि जस्तो छ, उनको छनोटमा पनि आफू मिल्दाहरु नै पर्ने गर्छन् । अहिले प्रधानमन्त्री दाहालले टिकापुर नरसंहारका मुख्य योजनाकार रेशम चौधरीलाई आम माफी दिलाएका छन् – त्यो पनि गणतन्त्र दिवसको अवसरमा । केही अघि उनले मूर्तीचोरलाई मन्त्री बनाएका थिए । त्यसपछि सांसद पनि बनाए । मूर्ती चोरीसँग प्रधानमन्त्रीको सम्बन्ध छ भन्न खोजिएको होइन । तर हिंसा र अपराधसँग प्रचण्ड चाहेर हो वा नचाहेर जोडिन पुछन् ।

नरसंहारकारीले शितलता अनुभव गरे

सोचिएको थियो गणतन्त्रमा दिनदुःखी जनताले पनि न्याय पाउनेछन् । समतामुलक समाज निर्माण हुनेछ । विधिको शासन लागू हुनेछ ।

शक्तिशाली र शक्तिहीनबीच भेदभाव हुँदैन । गणतन्त्रमा कोही राजा हुँदैनन्, कोही प्रजा हुँदैनन् । कानुन सबैका लागि समान हुनेछ । तर दीन दुःखीको कुरा छाडौं प्रहरीले समेत न्याय पाएनन् । अदालतको फैसलाको पूर्ण पाठ नआउँदै रेशम चौधरीलाई सरकारले आम माफी दिलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्यो । सिफारिसलाई पौडेलले आफ्नो कार्यालयको गेटमै आएर सदर गरिदिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले भनेका थिए कि म राष्ट्रपति भएर सितल निवास प्रवेश गरेँ भने सबैले सितलता अनुभव गर्नेछन् । अहिले आएर हामीलाई यस्तै हो जस्तो लाग्यो । राष्ट्रपति पौडेलको छायाँमा सबैभन्दा पहिले नरसंहारकारीले सितलता अनुभव गरे ।

जनताले त्यति ठूलो बलिदानी गरेर ल्याएको गणतन्त्र आखिर राजनीतिको आवरणमा नरसंहार गर्नेहरुका लागि चाहिँ रहेछ ।

मुख्य भ्रष्टाचारी काे ?

हाम्रो देशको सिस्टम नै करप्ट गर्नेहरु मुख्यतः कांग्रेस, एमाले र माओवादी नै हुन् । भत्काउन बिगार्न मात्रै जान्ने यिनले सुधार गर्न जान्दैनन् । खासमा सक्दैनन्, किनभने यिनमा त्यस्तो सक्षमता छैन । तराई तिर एउटा शब्द खुब प्रचलनमा छन् – ‘सठ्याइ सकेको’ भन्ने । हो, यी तीन पार्टीका तीन बुढाहरु सठ्याई सकेका छन् । यी पाकेको धान जस्ता हुन्, जति पानी हाल्नुस्, पानीको सत्यानाश, हुनेवाला केही छैन ।
विषय र प्रशंग जसको पनि आउन सक्छ । तर कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुने हाम्रो जस्तो देशमा जनताले हेर्ने भनेको प्रधानमन्त्रीकै स्टेप हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई द्वन्द्वकालमा जति ठूला ठूला भिडन्त हुन्थे, उहाँलाई जनवादी सत्ता उति निकट रहेको भ्रम रहन्थ्यो । त्यो भ्रमले के के ध्वंश गर्यो भनिरहनै परेन । अहिले नक्कली शरणार्थी प्रकरणले ३० जनालाई डाम्न खोजेको छ । तर प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्ध आफूले बाढी नै भित्र्याइ दिएको भ्रम परेको छ । प्रधानमन्त्रीमो व्याप्त यस प्रकारको–हेल्युसनेसन (‘हेल्यु–स–नेसन’) ले अरु कैयन भ्रष्टहरु खुसी हुँदैछन् । किनभने प्रधानमन्त्री यतिमै ‘बल्ले बल्ले’ गरिरहनु भएको छ ।

हेल्युसनेसन अर्थात दिग्भ्रम एक प्रकारको मानिसक रोग पनि हो । यस्तो रोग लागेको मान्छेले आफ्नो वरिपरि हुँदै नभएको मान्छे पनि देख्न सक्छ । उसैसँग कुरा गर्न थाल्छ । हुँदै नभएको मान्छेसँग घुुम्न जान्छ, उसका कुरा सुन्छ । सवाल जवाफ गर्छ । मनोचिकित्सकले जति पटक ‘तिमीले देखिरहेको मान्छे भ्रम हो’ भने पनि उसले पत्याउँदैन । अन्तिममा त्यस्तो व्यक्तिहरुको उपचार गर्न डाक्टरहरुले उसको भ्रमले सिर्जना गरेको मान्छेलाई कुनै बस, जहाज दुर्घटनामा मरेको देखाउने नाटक गरिदिन्छन् । नक्कली प्रमाण उसका अगाडि राखेर उसलाई ‘त्यो मान्छे म¥यो, अब आउँदैन’ भनेर विश्वस्त पार्छन् र उपचार गर्छन् ।

एक पटक माओवादीहरुले केपी ओलीलाई मानसिक उपचारको खाँचो छ भनेर बैठकबाटै निर्णय गरेका थिए । हामी प्रधानमन्त्रीलाई कुनै दिग्भ्रमको रोग लागेको भनिरहेका छैनौं । तर यति भन्छौं – तपाईलाई ‘त्यो मान्छे मरिसक्यो’ भनेर संसदमा, सडकमा अरु धेरै तिरबाट मानिसहरुले भनिसकेका छन् । कृपया यस्तो भन्नेहरुको आवाज सुन्नुहोस् । देश बारबादीमै छ, सुधार कत्ति पनि छैन । यसकारण ‘त्यो मरिसक्यो’ भन्ने आवाज सुन्नुहोस् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *