
विराटनगर । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार निर्माणका लागि आफूहरु तयार रहेको बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्रलाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न र कानुनी राज्यलाई स्थापित गर्न प्रमुख राजनैतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जानुको विकल्प नभएको बताए ।
उनले प्रमुख राजनैतिक दलहरु मिलेर अघि बढ्दा प्रदेश संरचनालाई संस्थागत गर्न सकिने भएकाले यस तर्फ छलफल गर्नुपर्ने जिकिर गरे ।
सर्वोच्च अदालतले कोशी प्रदेशमा गठन गरिएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भनेर आदेश दिएपछि राजधानी काठमाण्डौबाट विराटनगर फर्कनु भएका मुख्यमंत्री कार्कीले भागबण्डा गरेर सत्ता बाँडफाँडका लागि आफुहरु तयार हुन नसक्ने जानकारी दिए ।
फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था आउन नदिन राजनैतिक दलहरु नै सजग र संवेदनशिल हुनुपर्ने धारणा व्यक्त गरे ।
एक प्रश्नको जवाफमा मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतको फैसलाले धेरै विवाद र अन्यौलहरुलाई स्पष्ट पारेको जानकारी दिए ।