
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाकाे नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको आज फैसला हुँदैछ ।
बुधवार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले बुधवार सुनुवाइ सकेकोले आज बिहीवार फैसला सुनाउने भएको हो ।
मुख्यमन्त्री थापाविरुद्ध कोशीकै पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्च रिट निवेदन दायर गरेका थिए । सो रिटमाथि गत सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ गर्दै जटिल कानुनी प्रश्न समावेश भएको उक्त विवाद पूर्ण इजलासबाट निरुपण गर्न आदेश दिएको थियो ।
अब मुख्यमन्त्री उद्धव नेतृत्वको सरकारको आयु सर्वोच्चको फैसलामा निर्भर रहने भएकाे छ । यदि उनको नियुक्ति असंवैधानिक रहेको ठहर भएमा उनी नेतृत्वको सरकार बदर हुनेछ भने नियुक्ति जायज ठहर भएमा भने उनले सरकार चलाउन बाटो खुला हुनेछ ।
गत असार २१ गते कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन र हस्ताक्षर पेश गरेर मुख्यमन्त्रीमा दाबी गरेका थिए भने सोही दिन प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सभामुख आफै सरकार गठनमा सामेल हुनु असंवैधानिक रहेको भन्दै विवाद चुलिएको हाे ।