
काठमाडौं । सर्वाेच्च अदालतको आदेशसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त भएका नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको हैसियतले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् ।
२०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउन असफल भएपछि कार्की असार १५ गते पदमुक्त भएका थिए।
सर्वोच्च अदालतले बिहीबार कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत बदर गरेको थियो । साथै, सर्वाेच्चले कार्कीको नियुक्ति पनि बदर गरेको थियो।
साथै, सर्वाेच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको सरकार ४८ घन्टाभित्र बनाउन परमादेश पनि दिएको थियो।
सोही परमादेशअनुसार कार्कीले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री कार्कीसँगै तीन मन्त्री र एकजना राज्यमन्त्री नियुक्त भएका छन्। कार्कीसँगै उनीहरुले पनि सपथ लिएका छन् ।
ऊर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, वन तथा वातावरणमन्त्रीमा पाँचकर्ण राई र भौतिक पूर्वाधार मन्त्रीमा एकराज कार्की नियुक्त भएका छन्। यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्।