कोशीमा एक्लियो एमाले : न पहिचानवादीको साथ न सरकार

कोशीमा एक्लियो एमाले : न पहिचानवादीको साथ न सरकार

  • सुजन चालिसे

काठमाडाैँ । नेकपा एमालेलाई अहिले केहि कुराले पोलिरहेको छ भने त्यो हो कोशी प्रदेशको राजनीति । शीर्ष दलहरुको मिलेमतोमा कोशी नामाकरण गरिएपनि माओवादी र कांग्रेसले भने यसमा आफ्नो अपनत्व लाद्न खोजेन । जबकी अनावश्यक टिप्पणी गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिचान पक्षधरको नजरमा पहिचानविरोधी बने । अहिले एमालेले कोशी प्रदेश सरकार पनि गुमाएको छ । गत निर्वाचनमा कोशीमा पहिलो बनेको नेकपा एमालेको पछिल्लो साख गिर्दै गएको छ ।

प्रदेश सभाको एक कार्यकाल सकिसक्दा समेत नामाकरण हुन नसकेको प्रदेश १ को नाम ‘कोशी’ राख्न शीर्ष दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा सहमत भएका थिए । उनीहरुकै सहमतिमा फागुन १७ गतेको प्रदेशसभा बैठकले कोशी नाम पारित गरेको थियो । तर जब नामको विषयलाई लिएर विवाद सिर्जना भयो, माओवादी केन्द्र आफ्नो अडानबाट पछि हट्यो ।

प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गरेको माओवादीले चलाखीपुर्वक पहिचानवादीको पक्षमा उभिने निर्णय केन्द्रबाट गर्यो । नेपाली कांग्रेसले आफ्नो कित्ता स्पष्ट नपारेर तटस्थ बसिरहेको अवस्थामा एमालेले कोशीमा नदुखेको टाउको दुखायो । प्रदेश नामाकरणका बारेमा अनावश्यक अभिव्यक्ति दिएर एमाले अध्यक्ष ओली पहिचानवादीहरुको आँखाको कसिंगर बनिसकेका छन् । गत बैशाखमा झापाको बुधवारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदा उनीविरुद्ध ढुंगामुढा नै प्रहार भएको थियो । तर ओलीले पहिचानवादी समुहले गरेको आक्रमणको आक्रोश पुर्वराजा ज्ञानेन्द्र शाहको परिवारमाथि खन्याएर ढाकछोप गरेका थिए ।

केहिदिन अघि कोशी प्रदेशमा नेकपा एमाले सचिव योगेश भट्टराईमाथि पनि आक्रमणको प्रयास भयो । नामाकरणको विषयले पोलेको एमालेलाई अहिले आफ्नो भागमा बाँकी रहेको एकमात्र प्रदेश सरकार पनि गुमाउनु परेको पीडा छ । राप्रपाको समर्थनमा प्रदेश सरकार टिकाएको एमालेले प्रदेश सभाबाट विश्वासको मत पाउन सकेन । त्यसको केहिदिनपछि सभामुखको हस्ताक्षरबाट नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकारको गठन भयो । सभामुखसमेतको समर्थनमा सरकार गठन गरिएको भन्दै एमाले रुष्ट छ । कांग्रेस संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सरकार खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट नै दिएका छन् । एमाले केन्द्रीय सचिवालय बैठकले पनि कोशी प्रदेश गठन प्रक्रियामा आपत्ति जनाएको छ ।

गत निर्वाचनमा ४० सीट सहित कोशी प्रदेशमा पहिलो दल बनेको नेकपा एमालेको लोकप्रियतामा अहिले पहिरो गएको छ । कोशीका पहिचानवादी समुह सबैभन्दा रुष्ट नेकपा एमाले र केपी ओलीसँग छ । कमजोर अंकगणितका कारण प्रदेशसभा नै विघटन भएर मध्यावधि निर्वाचनमा जानसक्ने विश्लेषण भइरहँदा एमालेलाई यसले झन तर्साएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *