- तारा आचार्य
काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री भएका छन् । बिहीबार सभामुखसहित ४७ सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख खापुङद्वारा जारी नियुक्ति पत्रमा उल्लेख छ ।
थापालाई माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीको साथ रहेको थियो । थापाले कांग्रेसका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको पनि समर्थन रहेको दावी पत्रमा उल्लेख गरेका थिए ।
तर, सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन असंवैधानिक हुने भन्दै एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो ।