
काठमाडाैं । सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका एमालेका हिक्मतकुमार कार्कीले विश्वासको मत पाउने निश्चित छैन् । विश्वासको मतमा संकट हुने देखिएपनि दलहरुले कोशीलाई मध्यावधीमा जान दिन नहुने तर्क अघि सारिरहेका छन् । यस्तो अवस्थामा कोशीमा देखिएको राजनीतिक जटिलतालाई दलहरुले निकास निकाल्न पहल गर्लान् त ?
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम शुक्रबार मुख्यमन्त्रीको सपथ लिएका हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनेमा शंका छ ।
एमाले र राप्रपाको जम्मा मत ४६ मात्रै रहेकाले पनि उनीहरुले कुनै एक दललाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बाध्यता छ । यता प्रतिपक्षसँग पनि स्पष्ट बहुमत नभएकाले कोशी ढिला चाँडो मध्यावधिमा जाने आशंका चलिरहेको छ ।
यहिबेला कोशीका मुख्यमन्त्री कार्कीले भने सर्वदलीय सरकार बनाउन पहल गर्नेमा जोड दिएका छन् । कार्कीले सर्वदलीय सरकारको विषय उठाएपनि केन्द्रीय गठबन्धनसँगको विषय जोडिने भएकाले तत्काल यस्तो हुने सम्भावना पनि कम नै देखिन्छ । तर, सर्वोच्चको परमादेशबाट पदमुक्त भएका उद्धव थापाले भने मध्यावधिलाई रोक्न प्रयत्न गरिए पनि मध्यावधिकै सम्भावना भने उच्च रहेको बताएका छन् ।
जटिल संसदीय अंकगणितका कारण कोशी मध्यावधिको बाटोमा गएपनि सत्ताको किङ्मेकर बनेको राप्रपाले एमालेलाई समर्थन गरेको छ ।
एमालेलाई राप्रपाले गरेको समर्थनले पनि विश्वासको मतमा संकट आउने भएकाले संविधानको धारा १६८ को उपधारा ५ मा जाने सम्भावना उत्तिकै बलियो छ । तर, एमाले–कांग्रेस मिलेर सरकार बनाउनुपर्नेमा राप्रपाको जोड छ ।
एमालेको सरकार सर्वोच्चको परमादेशले बनेपछि नेकपा एकीकृत समाजवादी पार्टीले भने आफ्नो पार्टीको महत्व कोशीमा प्रभावकारी बन्दै गएको र एमालेले मिल्न प्रस्ताव गरिरहेको जिकिर गरेको छ ।
कोशीलाई मध्यावधिमा जान दिन नहुने बताएको नेकपा एसले एमालेलाई समर्थन गरिहाल्ने अवस्था भने देखिन्न् ।
दलीय भागबण्डाले समेत मिल्न कठिन कोशीको समिकरणले राप्रपालाई मुख्यमन्त्री बनाएर अघि बढ्ने बाटो पनि उत्तिकै बलियो छ । तर, सत्ता गठबन्धन पहिलो पटक नै राप्रपालाई मुख्यमन्त्री दिन तयार होला ? यो गम्भीर प्रश्न हो ।
राप्रपाले पनि संसदीय समितिमा लिएको भागका कारण उपधारा ५ बमोजिम बन्ने सरकारलाई कुनै न कुनै किसिमले सहयोग गर्नेमा दलका शीर्ष नेताहरुको आशा देखिन्छ ।
राप्रपाले तत्काल फेस सिभिङका लागि एमालेलाई समर्थन गरेको र ३० दिनपछि बन्ने अर्को सरकारलाई राप्रपाले समर्थन गर्ने चर्चा उत्तिकै भएपनि कोशीमा सानो समस्याले पनि मध्यावधि टाढा नभएको प्रष्ट देखिन्छ ।