कोशी प्रदेश नामकरणमा आफै सहमति जनाएर प्रचण्डले फेरि पहिचानवादीको पक्ष लिए : ओली

कोशी प्रदेश नामकरणमा आफै सहमति जनाएर प्रचण्डले फेरि पहिचानवादीको पक्ष लिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं संलग्न रहेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए । उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गरे । उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए । उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए ।

उनले भने, ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखियो, नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुनःविचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ ।’

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री प्रचण्डले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे ।

उनले भने, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटेपनि केही नगर्नु भनेको छ । पहिचानका नाममा एउटै मानिसहरु बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरु भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे शुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *