काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामाकरण सन्दर्भमा यसअघि पार्टी र संसदीय दलले गरेको निर्णयप्रति आत्मसमीक्षा गर्दै पुनः नाम फेर्नुपर्नेमा प्रतिबद्धता जनाएको छ ।
प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) द्धारा जारी विज्ञप्तिमा कोशी प्रदेश नामाकरण पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर आत्मसमीक्षा भएको र बहुपहिचानकै आधारमा प्रदेश नामाकरण हुनुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिको बुँदा नम्बर ३ मा भनिएको छ, ‘प्रदेश नामकरण सम्बन्धमाः पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचनासहित १ नं. प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न हाम्रो पार्टी दृढताका साथ प्रतिबद्धता व्यक्त गर्दछ ।’
यसअघि माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिरुद्ध प्रदेश १ नामाकरण सन्दर्भमा व्यापक विरोध गरिएको थियो । तर, उनले प्रदेश नामाकरण सन्दर्भमा पार्टीकै निर्णयबमोजिम मतदान गरेको स्पष्टीकरण दिँदै आएका छन् ।
तर, उनलाई पहिचानवादीले गद्धारको संज्ञा दिएका छन् । यद्यपि, उनले आफू पहिचानकै पक्षमा रहे पनि परिवेशअनुसार नै त्यो कदम चालेको बताएका छन् । त्यतिबेला एमालेसँग मिलेर सरकार गठन गरेको माओवादीले पहिचानमा बहुमत कतै पुग्ने नदेखेपछि एमालेकै कित्तामा उभिन पुगेको थियो ।
भूगोलको आधारमा नामाकरण राख्नुपर्ने एमालेको मागमै अन्ततः माओवादी बिलाउन पुग्यो । तर, कोशीको सरकार एमालेको पोल्टाबाट पुनः कांग्रेस–माओवादीको गठबन्धनमा आयो र कांग्रेसका उद्धव थापा अहिले कोशीका मुख्यमन्त्री छन् । कांग्रेस पनि पहिचानभन्दा भूगोलकै आधारमा प्रदेशको नामाकरण राख्न चाहे पनि माओवादीभित्रको एउटा कित्ताले फेरि प्रदेश नामाकरणको मुद्धा चर्काउन थालेको छ ।





