कोशी प्रदेश सरकार गठनका लागि काँग्रेसको साथ खोज्दै एमाले

कोशी प्रदेश सरकार गठनका लागि काँग्रेसको साथ खोज्दै एमाले

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाको बैठकमा बोल्दै उनले कांग्रेसबाट एमालेलाई साथ रहने अपेक्षा गरेको बताए । पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाटै भएको उनले बताए ।

राजनीतिक खिचातानीले प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति आउने बताउँदै उनले यसो हुँदा देशको अर्थतन्त्रमा समेत समस्या पर्ने बताए । काँग्रेसले समाधानको बाटोमा जानुपर्ने उनको भनाइ थियो । प्रदेशको हित र संविधानको रक्षाका लागि काँग्रेसले जिम्मेवारीपूर्ण भुमिका खेल्नुपर्ने उनले बताए ।

‘हामीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल गरिरहेका छौँ । पहिलादेखि नै हामीले उहाँहरुलाई भनेको त्यही नै थियो,’ ज्ञवालीले भने, ‘त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔँ । उहाँहरुले निषेध गर्न कोशिष गर्नुभयो । त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ । जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली काँग्रेसले जिम्मेवार भुमिका खेलोस् । हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ । अहिले नै कुनै संकेत छैन, प्रदेशको हीत र संविधानको रक्षाका लागि त्यसो गर्नु राम्रो हुन्छ ।’

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको पनि बताए । उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो कि भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *