- तारा आचार्य
मोरङ । कोशी प्रदेश सरकारलाई जसपाले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको भविष्य कमजोर छ । त्यसैले यहाँ कांग्रेसले आफ्नो सरकार बनाउन निरन्तर कसरत जारी राखेको छ । कोशीमा माओवादी केन्द्रको आगामी कदमले नै कोशी सरकारको भविष्य प्रष्ट्याउने भएकाले पनि यसतर्फ चासो बढेको छ ।
कोशी प्रदेशमा अहिले नेकपा एमाले नेतृत्वको सरकार छ । जहाँ माओवादी केन्द्रको समेत सहभागिता छ । तर, केन्द्रमा एमाले सरकार प्रतिपक्षीको भुमिका रहेका बेला कोशीमा एमाले नेतृत्वको सरकार प्रत्यक्ष प्रभावित छ । सबै प्रदेशमा प्रतिपक्षी भइसकेको एमाले कोशीमा सरकार पक्षमा टिकिरहने अवस्था छैन । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिइदियो भने एमाले सरकारबाट बाहिरिने निश्चित छ । तर, यहाँ माओवादीले ठोस निर्णय गर्न सकिरहेको छैन । कोशी सरकारबाट बाहिरिने वा के गर्ने भन्नेबारे निर्णय लिन सोमबार बैठक नै बसेपनि माओवादी बैठक अनिर्णित नै रह्यो ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा समिकरण फेरिएपश्चात केही दिन अघि मात्रै जसपाले समर्थन फिर्ता लिँदै कोशी सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । यता राप्रपाले भने कुनै दलमा पनि वलियो आधार नभएका कारण सरकार छोड्न नपर्ने बताउदै आएको छ ।
जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा परेको छैन । माओवादी केन्द्र र राप्रपा पनि सरकारमा भएकै कारण यो सरकार टिकेको छ । माओवादी सरकारमा रहेकै अवस्थामा यो सरकार संकटमा पर्ने छैन ।
यता नेकपा एस कोशी प्रदेशले भने माओवादी केन्द्रका इन्द्र आङ्वोको नेतृत्वको सरकार बन्ने दावी गरेको छ ।
कोशी प्रदेशमा एमालेको ४०, काँग्रेसको २९, माओवादीको सभामुखसहित १३, राप्रपाका ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । उता, एमाले र राप्रपा बाहेकका पार्टीहरु मिलेर सरकार बनाउन पनि प्राविधिक कठिनाइ देखिएको छ ।




