कोशी सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै, के होला कोशीको भविष्य ?

कोशी सरकार गठनका लागि दाबी पेस गर्ने समय आज सकिँदै, के होला कोशीको भविष्य ?

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् ।

नयाँ सरकार गठनकै लागि तीव्र छलफलमा रहेका दलका प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् ।

गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ ।

६ सिट रहेको राप्रपाले सहयोग नगरे अब बन्ने सरकारको भविष्य पनि ३० दिनपछि अन्योलग्रस्त देखिन्छ ।

अहिलेसम्म राप्रपाले नयाँ सरकार गठनका लागि सहयोग गर्ने, नगर्नेबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुख बाहेक १२, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग ४६ रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४६ सांसद चाहिन्छ ।

सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने गठबन्धनको तयारी रहेको छ । तर, माओवादीका तर्फबाट सभामुख बनेका बाबुराम गौतमले सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *