
काठमाडौं । खुला सीमा शान्ति सुरक्षा कायम गर्न समस्याको विषय बन्ने गरेको छ । खुला सीमाका कारण सीमा क्षेत्रमा हुने अपराधका घटना र विभिन्न कारणले सरकारमाथि चुनौति थपिएको बताइन्छ ।
सहज आवागमन र मित्रवत् सम्बन्ध कायम गर्ने विषयमा यसले भूमिका खेलेपनि नेपाल–भारत खुला सीमा अपराध न्यूनिकरणमा टाउको दुखाईको विषय बन्ने गरेको छ । चीनले नेपालसँगका सबै सीमा नाकामा कडाई गरेपनि भारतसँगको खुला सीमा लाई व्यवस्थित गर्नुपर्ने आवाज उठेपनि यो विषय अझैं सल्टिन सकेको छैन् ।
धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको नेपाल–भारतबीच बेलाबेलामा समस्या सिर्जना हुने गरेको पाइन्छ । विभिन्न मुलुकबाट नेपाल आएका मानिसहरु खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने र भारत आएकाहरु नेपाल प्रवेश गर्न खोज्ने विषय नौलो होइन् । खुला सीमा भएकै कारण सीमा नाकाबाट हुने अपराधका घटना पनि उत्तिकै डरलाग्दा हुने गरेका छन् ।
सीमा क्षेत्रमा अज्ञात समूहको लुटपाटदेखि गोलि प्रहारसम्मका विषय चुनौति बन्ने गरेका छन् । सीमा क्षेत्रमा अपराध गरेर सहजै अर्को देश जाने गरेका कारण अपराध नियन्त्रणमा समस्या हुने गरेको छ ।
खुला सीमा नाका चुनौति बनेको विषयमा सर्वोच्च अदलतले थप सन्धि सम्झौता गरेर आपसी समानता, सम्मान र पारस्पारिक हित एवं चासोका विषयलाई ख्याल राखेर नियमन गर्न सरकारका नाममा परमादेश जारि गरेको छ ।
झण्डै १ हजार ८ सय किलोमिटर लामो सीमा नाका जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधका घटना न्यूनिकरणमा सरकार पन्छिन नमिल्ने सर्वोच्चको ठहर छ । सामाजिक–सांस्कृतिक सम्बन्ध, परम्परा वा अन्य कुनै कारण देखाएर अवैध गतिविधि नियन्त्रणको जिम्मेवारीबाट राज्य पन्छिन नमिल्ने सर्वोच्चको फैसलामा भनिएको छ ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आफ्नो देशको सीमा निर्धारण गर्ने र सीमाबाट हुने आवतजावत तथा अन्य गतिविधिलाई नियमन र व्यवस्थित गरेर देश र नागरिकको जिउधनको सार्वजनिक सुरक्षा कायम गर्नुपर्नेमा सर्वोच्चले जोड दिएको छ ।
खुला सीमामा हुने अपराधका कारण शान्ति सुरक्षामा प्रश्न उठ्ने गरेका विषय पनि नयाँ भने होइनन् । कतिपय अवस्थामा नेपालमा अपराध गरेर भारत भाग्ने र आवश्यक सन्धि अभावका कारण त्यस्ता अभियुक्तलाई नेपाल झिकाउन समेत समस्या हुने गरेको छ ।
सुन तस्करी प्रकरणमा मुछिएका एक चिनियाँ नागरिक भारतमा पक्राउ परेको सीआईबीले नै बताइरहेको छ । उनले नेपाली नागरिकता देखाएर भारत छिर्न खोज्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले शंका लागेर छानबिन गर्दा उनीसँग चिनियाँ राहदानी फेला परेपछि पक्राउ परे । उनी सुन तस्करीको प्रमुख पात्र भएको सीआईबीको दाबी भएपनि उनलाई नेपाल ल्याउन भने कठिन छ ।
अर्काको देशको नागरिकलाई भारतले नेपाललाई दिन मान्ला ? प्रश्न उठेको छ । खुला सीमा हुँदैनथ्यो भने ती नागरिक सम्भवत भारत भाग्ने प्रयास गर्दैनथे ।
यस्ता थुप्रै उदाहरणहरु छन्, जो नेपालमा अपराध गरेपछि खुला सीमाको दूरुपयोग गर्दै भारत छिरिसकेका हुन्छन् । उनीहरु भारत लुकेको थाहा भएपनि नेपालमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न ठूलो सकस व्यहोर्नुपर्ने हुन्छ ।
यस्ता थुप्रै घटना भएका कारण पनि खुला सीमा नाकालाई व्यवस्थित पार्नुको विकल्प छैन् । सर्वोच्चले समेत शान्ति सुरक्षा कायम राख्न सामाजिक–सांस्कृतिक सम्बन्ध वा अन्य विषयलाई देखाएर सरकार पन्छिन नहुने भन्दै जिम्मेवार बन्न भनेको छ ।
सरकाले सर्वोच्चको फैसला अनुसारको काम गर्न सक्ला ? यो भने गम्भीर विषय बन्न पुगेको छ ।