
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका उनले ३५ सांसदको मत पाएका हुन् ।
६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन आवश्यक्ता थियो । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदको मत पाए ।
मुख्यमन्त्री पाण्डेको विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिए भने राप्रपाका २ जना सांसद तटस्थ बसे । वैशाख १४ मा
कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएकै दिन उनले कांग्रेसबाट सरस्वती अर्याल तिवारी, माओवादी केन्द्रका सुशिला सिम्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् । बिहीबार विश्वासको मत पाएसँगै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् ।