गलत नेता जिताउनेलाई प्रश्न नांगो गाउँ

गलत नेता जिताउनेलाई प्रश्न नांगो गाउँ

निर्देशक दीपेन्द्र लामाले फिल्म नांगो गाउँमार्फत दर्शकमाझ राजनीतिक प्रश्न गर्ने भएका छन्। वर्षौंदेखि नेपाली राजनीतिमा नेतालाई मात्र दोष दिने परिपाटी चल्दै आएकोमा उही नेतालाई जिताउनुमा दोष नेताको हो की जनताको हो भन्ने प्रश्न गर्ने दीपेन्द्र बताउँछन्।

‘फिल्मको नाम नांगो गाउँ भएकाले त्यो गाउँमा मान्छे नै छैनन् वा त्यो गाउँका युवा विदेसिएका होलान् भन्ने लाग्न सक्छ। तर, फिल्मको नाम विम्बात्मक रूपमा नामाकरण गरिएको हो। हामीले कयौं वर्षदेखि नेतालाई प्रश्न उठाउँदै आएका छौँ। तर, गलत नेता जिताउने पनि जनता नै हुन्। असल नेता चुन्ने जनताको चाहिँ दायित्व हुँदैन भन्ने प्रश्न यो फिल्मले गर्छ’ लेखक तथा निर्देशक लामाले प्रष्ट्याए ‘राजनीतिक पार्टीक विषयमा म तटस्थ भए पनि राजनीतिमा चासो र रुचि भएकाले राजनीतिक कथा वस्तुको कथा लेखेको हुँ।’

फिल्मका मुख्य अभिनेता दयाहाङ राईले नांगो गाउँ मानिसको राजनीतिक चेत, समाजमा राजनीतिले पार्ने प्रभाव र समाजभित्र शासन गर्ने व्यक्तिको सोच कस्तो हुन्छ भन्ने विषयमा फिल्म बनेको बताए। ‘कसैले कवितामा भनेका थिए, न गाउँ गाउँ रह्यो, न शहर शहर रह्यो। अहिले त्यस्तै नै छ। यस्तो पुँजीवादको अतिक्रमण राजनीतिक कारणले अहिले गाउँ नागिंदै गएको छ। वर्तमान समाजमा भइरहेका विविध राजनीतिक घटनालाई हामीले गाउँमा लगेर देखाएका छौँ। म पनि त्यहि भित्रको एक चरित्र हो। यो समाजकै कथा भएकाले यसका पात्र पनि हामीले देखि र भोगिरहेका नै छौं। फिल्मको अवधिभर हलभित्र रहने दर्शकको लागि यातना हुने छैन। बरु यसले एउटा प्रश्न चाहिँ खडा गर्छ,’ उनले भने।

फिल्मकी अभिनेत्री मिरुना मगरले पनि पहिलोपटक राजनीतिक विषयमा आधारित फिल्म खेल्दा रोमाञ्चकता महशुस भएको बताइन्। ‘दीपेन्द्र दाइसँग पहिलोपटक काम गरेको हुँ। उहाँले कथा भनिसकेपछि मलाई आफ्नो पात्र इन्ट्रेस्टिङ लाग्यो र काम गरेँ। म नेपालमा धेरै नबसे पनि यो फिल्मको कथा देखिरहेको र सुनिरहेको विषय हो। आफैले भोग्नुपर्छ भन्ने पनि छैन। तर, यो फिल्म गर्ने क्रममा राजनीति सक्दो बुझ्ने प्रयास गरेँ। भीमखर्कमा सुटिङ गरियो, कथा म्याच भएको पाएँ’ उनले भनिन्।

फिल्मका निर्माता जय श्रेष्ठले निर्देशक दीपेन्द्र लामाको पहिलेका काम नजिकबाट नियालिरहेको र उनको काम गर्ने शैलीबाट प्रभावित भएकाले नांगो गाउँ निर्माण गरेको बताए।

यसै बीच फिल्ममा समावेश सुन सुन सुन्दरी बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर, सुष्मा सिग्देलको शब्द रचना र सुशान्त गौतमको संगीत रहेको छ। गीतको भिडियोमा दयाहाङ राई र मिरुना मगरलाई फिचर्ड गरिएको छ। चित्लाङमा छायांकन गरिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी र आलोक शुक्लाको छायांकन रहेको छ।

हिमाल शर्माको प्रस्तुतिमा बनेको फिल्म जय श्रेष्ठले निर्माण गरेका हुन् भने रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा दया र मिरुनाको साथमा कर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ, शरद गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेशप्रसाद पौडेल, शंकर आचार्य, इष्टु कार्की, टिका निरौला, बद्रि पुडासैनी, नमस्ते दिवाकारलगायत कलाकारले अभिनय गरेका छन्। निर्देशक लामाकै लेखनमा बनेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, आलोक शुक्लाको छायाकंन निर्देशन र बनिश शाहको सम्पादन रहेको छ। फिल्म आगामी २९ गते रिलिज हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *