हेमजा । अन्नपूर्ण–३, हिलेका हाईबहादुर विकलाई आफू सामान्य साक्षरसम्म पनि हुन नपाएकोमा औधी दुख छ विद्यालय जान त के कुरा, बाल्यकाल जीविकोपार्जनका लागि घाँसदाउरामै बित्यो ।
उमेर अवस्थामा ५/६ भारीसम्म घाँस काट्नु उनको दैनिकी थियो । हल गोरु पाल्यो, केही जग्गा आफ्नो र केही अर्काको अधियाँ कमाएर परिवारका लागि वर्षभरि खाने अन्न पुर्याउन पाए सफल भएको ठानिन्थ्यो, उतिबेला ।
खेती गर्दा प्राविधिक ज्ञान थिएन । परम्परागत खेतीपाती । उनलाई त्यसबेला लाग्थ्यो, यति धेरै जग्गामा खेती गर्नुपर्ने, निकै गाह्रो छ, थोरै जमिनमा धेरै अन्न फलाउन के गर्न सकिन्छ होला ?
उनी विगतका दिन सम्झिँदै थिए–‘अहिले त मेरै गाउँमा प्राविधिक शिक्षा दिने भनेर अन्नपूर्ण बुहुप्राविधिक शिक्षालय निर्माण भइरहेको छ । आफूले त पढ्न पाइएन । नातिनातिनाले पढ्न पाउलान् कि भन्ने विश्वास छ ।’
त्यस्तै विश्वास छ, अन्नपूर्ण ३, लालबहादुर परियारलाई पनि । प्राविधिक शिक्षालय स्थापनाका लागि केही वर्षअघि माछापुच्छे« शिक्षा क्याम्पस/माविमा महायज्ञ पनि लगाइयो । सक्दो सहयोग पनि भयो । बीचमा यज्ञको उद्देश्य कता हरायो हरायो । अहिले आएर क्याम्पस त बन्द जस्तै भयो नै । तर शिक्षालय निर्माणले तीव्रता पाएसँगै महायज्ञको संकल्प पूरा हुनेक्रममा रहेको उनले जनाए ।
उनीहरु झैं अन्नपूर्ण गाउँपालिका १, २, ३ (साविकको ढिकुरपोखरी गाविस) का वडावासी शिक्षालय निर्माणले पूर्णता पाउन लागेसँगै औधी खुसी छन् । उनीहरुले माछापुच्छ्रेको महायज्ञमा प्राविधिक शिक्षालयको संकल्प गरेर दान गरेका थिए । जसमार्फत संकलित रकमबाट साविक ढिकुरपोखरी गाविसअन्तर्गत सो पालिकाको वडा ३ स्थित काउँनडाँडामा १४ रोपनी जग्गा खरिद गरि शिक्षालय निर्माण अगाडि बढिरहेको छ ।
यहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको मुख्य भवनले पूर्णता पाउन लागेको छ । हाल भवन फिनिसिङका लागि रङरोगन, ढुंगा/टायल/मार्बल टास्ने, खानेपानी तथा विधुतीकरणका कार्य भइरहेको छ । आगामी असोजभित्र सम्पन्न गर्ने तयारी साथ तीव्र गतिमा कार्य अगाडि बढिरहेको शिक्षालय प्रमुख विकल अधिकारीले बताए ।
अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको मुख्य भवन निर्माण पूरा हुन लाग्दा खुसी छन् गाउँले
चितवनस्थित रविना कन्स्ट्रक्सनले ३ तलामा १५ कोठा रहने गरी (प्रतितला ५१८ वर्ग मिटर क्षेत्रफल) निर्माण जिम्मा लिएको हो । पक्की भवनको ८० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ । मुख्य भवनसँगै त्यहाँ शिक्षालय प्रमुखको निवास पनि निर्माण भइरहेको छ । जसको प्रगति पनि मुख्य भवनसरह नै रहेको इ. शरद् कोइरालाले जानकारी दिए ।
शिक्षालय निर्माणमा प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को मुख्य योगदान रहेको स्थानीय बताउँछन् । उनीहरुले शिक्षालयलाई ‘मिनी नेपाल’ संज्ञा दिँदै भौगोलिक विविधताबाट विद्यार्थी पठनपाठनका लागि त्यहाँ पुग्ने विश्वास समेत लिए ।
शिक्षालय निर्माणसँगै अन्नपूर्णको उत्पादन, रोजगार वा स्वरोजगारमा जोडिन सक्ने स्थानीयको विश्वास छ । ढिकुरपोखरीवासीले आफूहरुको लामो प्रतीक्षापछिको सपना हाल विपनामा परिणत हुन लागेको भन्दै त्यसबाट स्थानीय पनि लाभान्वित हुनुपर्ने उल्लेख गरेका छन् ।
शिक्षालय निर्माणअन्तर्गत हाल त्यहाँ वन मन्त्रालयमार्फत करिब ५ सय रोपनी प्राप्तिको प्रक्रिया पनि अगाडि बढेको छ । २०७८ माघ २५ मा तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले शिलान्यास गरेको उक्त शिक्षालयको मुख्य भवन ३ करोड ८७ लाख २६ हजारको लागतमा सम्पन्न हुन लागेको हो ।
शिक्षालयअन्तर्गत हाल त्यहाँ बालीविज्ञान तथा पशुविज्ञान विषयमा पठनपाठन भइरहेको छ । शिक्षालयको आफ्नै भवनले पूर्णता नपाइसकेकोले माछापुच्छ्रे मावि भवनबाट पठनपाठन व्यवस्था मिलाइएको छ ।