गायब सुन नाटकीय ढंगले फेला पर्दै, विज्ञहरु भन्छन् – प्रमाण मेटाउने अवसर दिइयो (भिडियो)

गायब सुन नाटकीय ढंगले फेला पर्दै, विज्ञहरु भन्छन् – प्रमाण मेटाउने अवसर दिइयो (भिडियो)

काठमाडौं । पशुपतिनाथको सुनको जलहरी अख्तियारले जोख्दा आधा किलो कम पाइएको थियो । पशुपति क्षेत्र विकास कोषले भनेको थियो –हामीले १०८ किलो सुनको जलहरी बनाएका छैनौं ।

९६ किलो ८२२ ग्राम मात्रै जलहरीमा प्रयोग भयो । तर अख्तियारले जोख्दा एक सय साढे सात किलो भेटियो । त्यही बेला महालेखालाई पनि कोषले भनेको थियो – जलहरी बनाउँदा बाँकी रहेको ११ किलो सुनलाई हामीले रिङ बनायौं । तर रिङ होइन, जलहरीमै सुन भेटियो ।

अख्तियारले जोखेपछि पनि आधा किलो सुन गायब नै भयो । यो सुन कहाँ छ भनेर सोध्दा कोषका पदाधिकारीहरुले थाहा छैन भन्ने गर्थे । तर अहिले अख्तियारको कारबाहीबाट जोगिन हो वा किन हो, कताकताबाट सुन ल्याएर कोषले पगालेर पनि राखिसकेछ ।

विज्ञहरुले भनेका छन् – ‘आरोपीलाई पदमै राखेर प्रमाण मेटाउने अवसर अख्तियारले नै दियो । यहि भएर अहिले कारबाहीबाट जोगिन सुनको हिसाब मिलाउने प्रयत्न भयो ।’

पशुपतिमा सुनको जलहरी बनाउँदा ९६ किलो ८२२ ग्राम सुन प्रयोग भएको र बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाइ जलहरीमा लगाइयो भनेर मुचुल्कामा पछि थपिएको वाक्यांश थियो ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार १० मा जलहरी जोख्दा ९६ किलो ८२२ ग्राम होइन १०७ किलो ४६८ ग्रामको जलहरी भेटियो ।

अब प्रश्न उठ्छ – मुचुल्का गरिँदा जति सुन खर्च भएको थियो, त्यो भन्दा १० किलो ६४६ ग्राम बढी वजनको जलहरी कसरी रहन गयो ?

पशुपति क्षेत्र विकास कोषले गरेको मुचुल्कामा उल्लेख भएभन्दा बढी सुन अख्तियारले फेला पारेको थियो ।

असार १० मा जलहरी जोख्दा १०७ किलो ४६८ ग्राम पाइए पनि जलहरीको असली वजन हुनुपथ्र्यो – १०८ किलो । अर्थात ५३२ ग्राम सुन अख्तियारले जोख्दा पनि पाइएको थिएन ।

यो ५३२ ग्राम सुनको हिसाब पशुपति क्षेत्र विकास कोषले कहिले पनि, कतै पनि देखाएन ।

अहिले एकाएक जलहरी निर्माणका क्रममा बाँकी रहेको टुक्राटाक्री र धुलो पगालेर जोख्दा ५३ तोला सुन प्राप्त भएको भन्ने खबरहरु सार्वजनिक भएका छन् ।

५३ तोला सुन ६१७ दशमलव ९८ ग्राम हुन्छ । अर्थात हुनुपर्नेभन्दा केही बढी सुन प्राप्त भएको विषय अहिले सार्वजनिक भएको छ ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सुनको हिसाब झन्डै २ वर्ष लुकाएका थिए । हिसाब माग्ने कोषकै सदस्यहरुलाई समेत उनीहरुले जवाफ दिने गरेका थिएनन् ।

जलहरी बनाउँदा सुन गायब पारिएको कुरा उठाउने मध्येका देवीप्रसाद बराललाई संस्कृति मन्त्री सुदन किराँतीले कोष सदस्यबाट हटाइ सकेका छन् ।

पशुपतिमा सुनको जलहरी बनाउँदाको हिसाब कतैबाट पनि मेल खाने गरी कोषले सार्वजनिक गरेको छैन ।

अख्तियारले जोख्दा आधा किलो मात्रै कम परिमाणमा जलहरीको वजन भेटियो ।

त्यो आधा किलो सुन पनि कहाँबाट कसरी ल्याइयो भन्ने कुराको प्रमाण मेटाउँदै पगाल्ने काम भइसकेको छ ।

सुनको हिसाब जसरी जोड्दा पनि मिल्दैन, मिलन थापालाई पदमा राख्दा प्रमाण मेटिएको शंका

जलहरी बनाउँदा १० किलो ९७६ ग्राम सुन गायब भएको प्रमाण यो कोषकै पदाधिकारीहरुको रोहबरमा तयार पारिएको यो मुचुल्काले पुष्टि गर्छ ।

यो १० किलो ९७६ ग्राम सुनलाई जलहरी अड्याउन रिङ बनाउन प्रयोग भएको कुरा महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले पनि पुष्टि गर्छ ।

महालेखा परिक्षकको कार्यालयलाई समेत कोषले ११ किलो सुन जलहरीमै खर्च भएको जानकारी दिएको थिएन । तर जोख्दा जलहरीमै थप साढे १० किलो सुन भेटियो । अब प्रश्न उठ्छ, यस्तो कसरी भयो ?

भ्रष्टाचारविरोधी अभियन्ता र विज्ञहरुले यस प्रकरणका आरोपीहरुलाई लामो समयसम्म पदमै कायम राख्दा प्रमाण मेटाइएको हुन सक्ने अनुमान गरेका छन् ।

पूर्वगृह सचिव तथा भ्रष्टाचारविरोधी अभियन्ता खेमराज रेग्मीको मतमा ११ किलो सुन कम पाइएको विषय प्रष्ट देखा पर्नेवित्तिकै अख्तियारले आरोपीहरुलाई पदबाट निलम्वन गराउने प्रक्रियामा जानु पथ्र्यो । त्यसो नगर्दा अहिले नाटकीय ढंगले सुन फेला परिरहेको छ ।

जलहरी प्रकरणमा अख्तियार प्रवेश गरेर पनि उसले अभियुक्तहरुलाई झन्डै २ वर्ष पदमै वहाल हुने अवसर दिएको थियो ।

अख्तियारले छाडेको यो चलखेल पिरियडमा मुचुल्कामा उल्लेख भए भन्दा साढे १० केजी सुन प्रकट भयो भने कहिले पनि आधा किलो सुन बारे मुख नखोलेका पदाधिकारीले अहिले सुन भेटिएको भन्दै त्यसलाई पगालेर पनि राखिसकेका छन् ।

वरिष्ठ अधिवक्ता एवं भ्रष्टाचार विरोधी अभियन्त श्रीहरि अर्यालले पनि अख्तियारकै शैलीमा त्रुटि देखेका छन् । पहिले कैफियत देखेर उजुरी लिने, अहिले केही छैन भनेर सामसुम पार्ने जस्तो हल्का क्रियाकलाप भएको अर्यालले बताए ।

पूर्वसदस्य सचिव ढकालविरुद्ध अख्तियारको मुद्दा, १ करोड ४४ लाख बिगो

पशुपतिमा सुनको जलहरी बनाउने बेला सदस्य सचिव थिए – प्रदीप ढकाल । जलहरी बनाउने उपसमितिका संयोजक थिए – त्यो बेलाका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापा ।

यिनै थापा अहिले अख्तियारको पञ्जाबाट उम्किने वातावरण बनिरहेको छ । तर प्रदीप ढकालविरुद्ध चाहिँ अख्तिायरले मुद्दा दायर गरिसकेको छ ।

ढकालले पदमा रहँदा १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अवैध रुपमा आर्जन गरेको दावी अख्तियारले गरेको छ । ढकालले जोडेको यो रकम जफत गर्ने, यति नै जरिवाना तिराउने र २ वर्ष जेल हाल्नु पर्ने माग आयोगको छ ।

ढकालसँग ७९ जेठ ३० सम्ममा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ स्रोत खुलेको सम्पत्ति भेटिएको थियो ।

७४ सालदेखि ७९ सालसम्म सदस्य सचिव हुँदा ढकालले अवैध ढंगबाट लाखौं कमाएको आयोगको ठहर छ ।

ढकाललाई तत्कालिन संस्कृति मन्त्री जितेन्द्र देवले सदस्य सचिव बनाएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *