भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोला, हिलप्वाइन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी, हार्वड एकेडेमीका प्रिन्सिपल श्रीकृष्ण अधिकारी, पोखरा लर्नस एकेडेमीका प्रिन्सिपल विधान गौतम, सोसल पब्लिक स्कुलका निर्देशक खेम गुरुङ, प्रगति स्कुलका प्रिन्सिपल महेन्द्र थापा, र डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्यायले सम्झौतापत्र आदानप्रदान गरे ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डीन प्राडा लुइँटेलले सुखद सिकाइको वातावरण तयार गर्न त्यसै अनुसारको शिक्षकको आवश्यता रहेको औंल्याए । शिक्षणको सबैभन्दा ठूलो चुनौती मनस्थिति रहे पनि मेरो मनस्थितिमा समस्या छ भन्ने शिक्षकले थाहा नहुँदा कक्षा प्रभावित भइरहेको भनाइ राखे ।
विद्यार्थीमा सिर्जनात्मकता जगाइदिने भूमिका शिक्षकको हुने भन्दै उनले समाजमा आएका परिवर्तनले बालबालिकाले बुझ्ने तरिकामा पनि परिवर्तन आएको बताए । उनले भने, ‘यसैका कारण पनि शिक्षण शैलीमा परिवर्तन आवश्यक छ ।’
सुखद सिकाइका लागि सक्षम शिक्षक तयार गर्नु मुख्य उद्देश्य
सम्झौता गरेका विद्यालयहरुमा काठमाडौं विश्वविद्यालयले शिक्षकहरुको सिकाइ र सहयोग कार्यक्रम बढाउन पहल गर्ने, विद्यालयहरुको आवश्यकता विश्लेष्णको आधारमा ४८ घन्टाको पाठ्यक्रमको ढाँचा तयार गर्ने, अधुरा कार्यहरुको विश्लेष्ण, पाठ्यक्रम, मूल्यांकन, नेतृत्व दुरदृष्टि र विद्यालयहरुको मिसनसँग सम्बन्धित प्रश्नहरुमा काम गर्ने, समयसमयमा कार्यशाला, प्रशिक्षणमार्फत स्रोत, उपकरण र पाठयोजनाको निर्माण र विकास गर्ने, शिक्षकहरुको सिकाइ अभिवृद्धि गर्न सहयोगको रुपमा काम गर्ने र आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने भएको छ ।
विद्यालयहरुले निरन्तर र व्यावसायिक शिक्षा कार्यक्रमको पाठ्यक्रममा संलग्न सबै खर्चहरु प्रबन्ध गर्ने छन् । पाठ्यक्रम÷कार्यशाला र प्रक्षिक्षण मार्फत शिक्षक र शैक्षिक नेतृत्वलाई सबलीकरण गर्ने, शिक्षकहरुको लागि प्रगतिशील र प्रोत्साहनजनक वातावरण सिर्जना गर्ने दायित्व विद्यालयहरुको हुने सम्झौता छ । उक्त सम्झौतापछि पोखराका विद्यालयका शिक्षकहरु विभिन्न तालिममा सहभागी हुने छन् ।
कार्यक्रममा डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्यायले शैक्षिक सहकार्य र नेतृत्व विकास गर्दै विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोला निजी विद्यालयहरु क्षमतावान शिक्षक उत्पदान गरी त्यसै अनुसार प्रभावकारी सिकाइका लागि प्रयासरत रहेको भनाइ राखे ।
कार्यक्रममा सहप्राध्यापक डा पार्वती ढुंगाना, प्रशिक्षक रविना महर्जन, रेजिना केसी र सन्दीप ढुंगानासमेत सम्झौता समारोहमा उपस्थित थिए । यसअघि उनीहरुले विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण २ दिनसम्म चलेको थियो । प्रशिक्षणमा विद्यालयका विभागीय प्रमुखहरुसहितका सहभागी थिए । पाठ्यक्रम विकास, पाठयोजना निर्माण, पृष्ठपोषण, विद्यार्थीको सिकाइ उपलब्धि लगायत शीर्षकमा केन्द्रित रही प्रशिक्षण भएको हो ।