गुण्डाहरु जोगाउने प्रचण्ड सरकारको अर्को प्रयास, पीडित उपप्राध्यापकले सुरु गरे अनसन (भिडियो)

गुण्डाहरु जोगाउने प्रचण्ड सरकारको अर्को प्रयास, पीडित उपप्राध्यापकले सुरु गरे अनसन (भिडियो)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गराउने गुण्डाहरुविरुद्धको मुद्दा फिर्ता लिन मन थियो भने सरकारले प्रहरी लगाएर केही दिन अघि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि मोसो खन्याउने नेविसंघका कार्यकर्ता सरोज पोख्रेललाई किन पक्राउ गर्यो ?

सरकार यदि कानुन सबैका लागि बराबर हो भन्ने ठान्छ भने मोसो खन्याउने सरोज पोख्रेललाई रिहा गरोस् ।

देशभित्र हजारौंको कत्लेआम गर्ने, विदेशमा पुगेर अहिंसाका प्रतिमूर्तिको समाधीमा पुष्प गुच्छा चढाउने जस्तो दोगला चरित्र आखिर सरकार किन पटक पटक देखाउँछ ?

राजनीतिक दलहरुले पालेका गुण्डाविरुद्धको मुद्दा फिर्ता लिएर सरकारले समाजमा दिन खोजेको सन्देश के हो ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रष्ट भनून कि – यो सरकार अपराधी र गुण्डाहरुकै लागि बनेको हो ।

सोझा र सज्जनहरुका लागि मुलुक अब बाँच्न लायक रहेन । यदि यस्तो होइन भने मामिला न्यायमूर्तिहरुसम्म पुगोस् ।

कोही निर्दोश छन् भने तिनले अदालतबाटै निर्दोषिताको प्रमाणपत्र पाउनु जत्तिको सम्मान अर्को हुँदैन ।

न्यायालयले गर्ने काम प्रधानमन्त्रीले नगरुन् । बालकृष्ण ढुंगेल, रेशम चौधरी, अहिले दलका गुण्डाहरुसम्मका लागि नेपालका सरकारहरु लम्पसार परे । तर वास्तविक निर्दोशहरुसम्म सरकारको नजर नै पुग्न सकेन ।

उपप्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमण र मुद्दा फिर्तासम्मको पूरा प्रकरण के हो त ?

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने । २०७७ साल असोज २० गते नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ता हरि आचार्य र योगेन्द्र रावललगायतको समूहले सांघातिक आक्रमणमा गरेर उनलाई गम्भीर घाइते बनाएको थियो ।

विद्यार्थी संगठनको अराजकताको सिकार भएका उपप्राध्यापक चलाउने ७७ असोजदेखि न्यायका लागि संघर्षरत छन् ।

उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको घटनामा आरोपित आचार्य र रावललयायतविरुद्ध सरकारले तीन वर्षअघि नै ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो । तर विडम्बना फैसला हुनु ठिक अघि अर्थात अन्तिम पेसी तोकिएपछि सरकारले मुद्दा नै फिर्ता लिने पत्र अदालतमा पठायो ।

विश्वविद्यालयमै एक उपप्राध्यापकमाथि हमला गर्नेहरुको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्ले गरेको निर्णयको यतिबेला सर्वत्र आलोचना भइरहेको छ ।

यता आफ्नो ज्यान लिने उद्देश्यले भएको घटनाका अभियुक्तलाई उम्काउने गरी सरकारले निर्णय गरेको भन्दै उपप्राध्यापक चलाउने सोमबार साँझदेखि त्रिवि उपकुलपतिको कार्यालय अगाडी धर्नामा बसेका छन् ।

मंगबालर हाम्रो टिम उपप्राध्यापक चलाउने धर्नामा बसेको स्थलमै पुगेको छ ।

उनले हामीसँगको कुराकानीमा राजनीतिक प्रभाव र पहुँचका भरमा अभियुक्तलाई उम्काएर सरकारले आफुमाथि अन्याय गरेको भन्दै गुनासो पोखेका छन् । घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु परेको भन्दै उनले आफ्ना दुःख हामीसामू साटेका छन् ।

असार ५ गते अर्थात मंगलबार यो मुद्दाको सुनुवाइ तोकिएको थियो । तर आइतबार नै सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता लिनका लागि अदालतमा निवेदन दर्ता ग¥यो ।

यति भएपछि न्यायको आस मारेका चलाउने आफुसँग कुनै विकल्प नरहेपछि धर्नामा बस्न भन्दै सोमबार अदालत पुगे । तर, प्रहरीले उनलाई त्यहाँ बस्न नदिएर उल्टै नियन्त्रणमा लियो ।

प्रहरीले उनलाई करिब ४ घण्टापछि छाडेको थियो । त्यसपछि चलाउने त्रिवि उपकुलपतिको कार्यालय पुगेर त्यँहा धर्नामा बसेका हुन् ।

यता काठमाडौँ जिल्ला अदालतले प्रकृया नपु¥याइ ल्याएको भन्दै मंगलबार मुद्दा फिर्ताविरुद्धको सुनुवाइ गर्न अस्वीकार गरिदिएको छ ।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा ल्याइएको भन्दै सुनुवाइ गर्न मानेनन् । निवेदनलाई पेशीमा चढाएर ल्याउन आदेश दिइएको छ ।

के थियो घटना ?

उपप्राध्यापक चलाउनेका अनुसार ७७ साल असोज २० गते उनी क्वार्टरबाट साढे ९ बजे निस्किएका थिए । त्रिवि क्रिकेट मैदानको छेउँबाटै उकालो लाग्दै गर्दा उनीमाथि आक्रमण भयो ।

एक जनाले बाँसको भाटोले उनको टाउकोमा हिर्कायो । पिपिई र एप्रोन लगाएका अरु तीन जनाले पछाडीबाट घेरेरे चलाउनेको टाउको, हात, छातीलगायत भागमा अन्धाधुन्ध हिर्काउन थाले ।

त्यसबेला चलाउनेले हात जोडेर नपिट्नुस् भन्दै विलौना गरिरहे । तर, पनि आक्रमणक्रारीहरु रोकिएनन् । उनीहरुले चलाउनेको दाहिने तिघ्रामा बेस्सरी भाटा बर्साए ।

उनीमाथि कुटपिट भइरहेका बेला भाग्यवस एक महिला घटनास्थलमा पुगिन् । चलाउनेमाथि कुटपिट भइरहेको देखेपछि ती महिला हारगुहार गर्न थालिन् ।

महिलकै हारगुहारपछि अरु तीन–चार वटा मोटरसाइकल घटनास्थलमा रोकिए । त्यसपछि आक्रमणकारीहरु आफूहरु आएकै मोटरसाइकल चढेर फरार भए ।

चलाउने त्यसदिनको घटना यसरी सम्झिन्छन् ।

२० हजार ‘सुपारी’ लिएर पेसेवरले गरेका थिए आक्रमण !

योजनाकार हरि आचार्य र योगेन्द्र रावलले घटनाका लागि बाहिरबाट पेसेवर अपराधी ल्याएका चलाउनेले बताउँदै आएका छन् ।

काठमाडौंको रातोपुलस्थित टेक्सास कलेज पढ्ने रुपेश शाह २० हजार ‘सुपारी’ लिएर रविन लामा, सयुज श्रेष्ठ र नीरज रानामगरसहित आफुलाई आक्रमण गर्न कीर्तिपुर आएको उनको भनाई छ ।

घटना अघिपछि उनीहरुबीच १९७ पटकसम्म टेलिफोन संवाद भएको कल रेकर्ड पनि प्रहरीसँग छ । यता पेसेवरहरुले आचार्य र रावलको योजना, निर्देशन र खटनपटनमा आफूले अपराध गरेको कुरा स्वीकार नै गरिसकेका छन् ।

तर संगठनको आडमा आफुमाथि आक्रमण भएको बताउँने उनले कांग्रेसका केही नेताहरुकै नाम काँडेर घटनादेखि अदालतसम्म कांग्रेस पार्टी र नेविसंघ राम्रैसँग प्रयोग भएको समेत बताएका छन् ।

चलाउनेलाई हमला गर्न परिचालित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छोडेको थियो ।

रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझा जनही २० देखि ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

यो धरौटी रकम पनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बुझाइदिएको भन्दै योजनाकार भनिएका हरि आचार्यले सञ्चार माध्यममा अभिव्यक्ति समेत दिएका थिए ।

योजनाकार आचार्य हाल अमेरिकामा छन् । आचार्यविरुद्ध फौजदारी मुद्दा विराचारधिन रहेकै अवस्थामा उनी अमेरिका कसरी पुगे ? भन्नेमा पनि चलाउनेले शंका व्यक्त गरेका छन् ।

अहिले चलाउने धर्नामा बसेको देखेपछि उनी अमेरिकाबाटै फेसबुकमा यस घटनाका सम्बन्धमा नानाथरी कमेन्ट गर्नमा व्यवस्त भइरहेका छन् ।

उपप्राध्यापक चलाउनेको पक्षमा संसदमा पनि उठ्यो आवाज, पीडकलाई दण्डित गर्नुपर्ने सासंदहरुको माग ।

यता संघीय संसदमा समेत उपप्राध्यापकको पक्षमा केही सांसदहरुले आवाज उठाएका छन् ।

मंगरबार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न सरकारसँग माग गरे । आक्रमणमा संलग्नलाई लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति उनले आपत्तिसमेत जनाए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *