हेमजा । पोखरा–९, नयाँबजारस्थित गुरुकुल विद्यासदनको कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । गुरुकुलमै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवं विविध पक्षबारेमा अभिमुखीकरण पनि गरियो ।
प्रदेश परीक्षा व्यवस्थापन निर्देशनालयका निर्देशक दीपेन्द्र ढकालले विद्यार्थीलाई संस्कारयुक्त बन्न सुझाव दिँदै गुरुकुल पोखराकै नमुना अग्रणी विद्यालय भएको औँल्याए । उनले सोचेर बोल्नुपर्ने र बोल्नुभन्दा पहिला पढ्न र बुझ्नुपर्नेमा जोड दिए ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले मुलुकका लागि आवश्यक जनशक्ति उत्पादनमा गुरुकुलको भूमिका रहेको चर्चा गर्दै विद्यालयबाट आफ्नो ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न विद्यार्थी सचेतताका साथ अध्ययनमा लाग्नुपर्ने स्पष्ट पारे ।
विद्यालयका अध्यक्ष रवि कार्कीले पठनपाठनका अलावा विद्यार्थीको प्रतिभा पहिचान गर्न विद्यालय अग्रसर रहेको दाबी गर्दै विद्यार्थीले अनुशासनमा विशेष ख्याल राख्नुपर्ने जनाए । उनले १० जोड २ सञ्चालनका लागि छुट्टै भवन व्यवस्था गरिएको स्पष्ट पनि पारे ।
कार्यक्रममा प्रधानाध्यापक नारायण आचार्य, विद्यालय सञ्चालकमध्ये एक भुवन सुवेदी, १० जोड २ संयोजक वसन्तकुमार श्रेष्ठ लगायतले गुरुकुल नाममात्र नभई सार्थक गुरुकुल भएको दाबी गरे । उनीहरुले नवआगन्तुक विद्यार्थीले सही विद्यालय रोजेको भन्दै विद्यार्थीको भविष्य उज्ज्वल रहने बताए ।
यस अवसरमा कक्षा १२ का गरिमा दाहाल र सगुन ढुंगाना तथा कक्षा ११ का अनुजा राना र केशव ढकालले जीवनमा शिक्षाको महत्वबारे धारणा राखे । भक्तराज रसाइलीले विद्यार्थी जीवनका आधारभूत पक्षबारे सहजीकरण गरे ।
यसैबीच कलाकार प्रताप दास, विद्यार्थीहरू अनुज गिरी, आकृति केसी, रोशनी देवकोटा, झरना गुरुङ, महेश कुँवर, झरना छन्त्याल, प्रतीक्षा श्रेष्ठ, अमृता श्रेष्ठ, मौषम विक लगायतको समूलले विभिन्न प्रस्तुति राखे । नवआगन्तुक विद्यार्थीलाई टीका र खादा लगाएर स्वागत गरिएको थियो ।