गृहमन्त्रीको ‘पत्रिका’ले मेरो फोटो किन छाप्यो ? सुन तस्करको अनुसन्धान नभएसम्म छाड्दैनौँ : ओली

गृहमन्त्रीको ‘पत्रिका’ले मेरो फोटो किन छाप्यो ? सुन तस्करको अनुसन्धान नभएसम्म छाड्दैनौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । साथै गृहमन्त्रीको पार्टीको पत्रिकाले आफ्नो फोटो छापेको भन्दै उनले अर्को आपत्ति समेत जनाए ।

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवारी देखाएको बताए । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए।

उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भनेर पनि प्रश्न गरे । साथै गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी समेत दिए । कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृहमन्त्रायले मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै ओलीले प्रश्न गरे ।

उनले नयाँ पत्रिकाको नामै काढेर त्यस सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति आपत्ति जनाएका छन् । नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति उनले आपत्ति जनाएका हुन् । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरु मोड्ने काम गरिरहेको र उनकै पार्टी निकटको उक्त पत्रिकाले आफ्नो फोटो छापेको ओलीको आरोप छ ।

‘एउटा नयाँ पत्रिका भन्ने छ के हो नेपालमा । त्यो पत्रिकाले मेरो फोटो छापेछ, सोझै मेरो फोटो किन छाप्या ?’ ओलीले भने, ‘म न सरकारमा छु, न मैले पुलिस चलाउने । न म इमिग्रेशन चलाउने । मेरो फोटो किन छापेको ? अनि यो कुन पार्टीको भने नि गृहमन्त्रीको पार्टीको पत्रिकाले छाप्छ, तपाईहरुमध्ये कोही हुन सक्नुहुन्छ होला नयाँ पत्रिकाको । तर प्रधानमन्त्री, गृहमन्त्रीको पार्टीद्वारा सञ्चालित पत्रिका, सबैलाई थाहा छ त त्यो माओवादी पत्रिका हो भनेर । न्युनतम धर्म त राख्नुपर्छ नि । न्युनतम मर्यादा त राख्नुपर्छ नि । यो पित पत्रकारिताभन्दा पनि कालो पत्रकारिता हो । यस्तो पनि हुन्छ ?’

उनले गृहमन्त्रीलाई समेत चेतावनी दिँदै थप भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ हाम्रो । उहाँले यहाँ सेक्युरिटीको बन्दोबस्त गरेको छ की छैन । एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँको आउने जाने चिजको निरीक्षण गर्ने काम उहाँको हो की होइन । क्वीन्टलका क्वीन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ । यो अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार, आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? गृहमन्त्रीले बताउनुपर्छ, उहाँको संलग्नता छ कि छैन तस्करीमा ? सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहिँ संलग्नता भएको छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु– गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पु¥याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो, तर यो त बत्तमिजीको कुरा मात्रै होइन, गैर जिम्मेवार हद भयो यो ।’

आकाशतिर चिल देखाएर यता के लुकाउन खोजिँदै भन्दै उनले नयाँ पत्रिका र गृहमन्त्रीलाई प्रश्न गरे । ओलीले भने, ‘के छोप्न खोजिँदै छ ? अबको समयमा कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन । यो सुन काण्डको सिलसिला अन्तिमसम्म नपु¥याइकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, यो गृहमन्त्रीसम्म पुगोस् । कहीँ भएपनि पहिला पनि सुन काण्ड तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले, फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ । यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ, हेरिरहेका छौँ । बोक्न त प्लेन, गाडी भरियाले बोक्यो होला तर बोकाउने को ? कसले बोकायो ? त्यसकारण यो ढाकछोप हुन सक्दैन ।’

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाण बिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *